• १२ मंसिर २०८१, बुधबार

गर्मीमा स्वास्थ्य चुनौती

blog

दिनपछि रात भने जस्तै समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम, त्यसपछि वर्षा मौसम आउने गर्दछ । वातावरण परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्दछ र स्वास्थ्यको दृष्टिले संवेदनशील बन्छ । गर्मी मौसममा सरसफाइको कमी, सडेगलेका फलफूल, जथाभावी खाना र पानीमा ध्यान नदिँदा रोगले आक्रमण गर्ने गर्दछन् । बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीबेहोरा र फोहोर पानीको प्रयोग नै रोग लाग्ने मुख्य कारण हो ।

गर्मीमा पकाइएको खाद्य वस्तु केही घण्टामै कुहिने, बेस्वाद र बेरङ हुने जस्ता हुन्छन् किनभने गर्मीमा सूक्ष्म जीव छिटो र बढी सक्रिय हुन्छन् । तीव्र विषाक्त हुन्छन् र कुहिन्छ । तसर्थ बढीमा दुई घण्टाभित्र खाइसक्नु राम्रो हुन्छ । गर्मीमा बासी सडेगलेका, बढी मसलायुक्त, माछामासु, चिल्लो पिरो जस्ता खाद्यवस्तुबाट सकेसम्म टाढा नै रहनु राम्रो मानिन्छ । गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वास प्रश्वास र धेरै जसो पाचन प्रणालीस“ग सम्बन्धित हुन्छन् । श्वास प्रश्वास प्रणाली नाकदेखि फोक्सोसम्म तथा पाचन प्रणाली खाने मुखबाट सुरु भई निष्कासन द्वार मलद्वारसम्म पर्दछ । 

कीटाणुको सङ्क्रमण जति तल वा फोक्सोतिर भयो त्यति नै साह्रो हुन्छ । नाकमा सङ्क्रमण भए साधारण रुघाखोकी त फोक्सोमा सङ्क्रमण भए निमोनिया, छातीको सङ्क्रमण भए ज्वरो, खोकी, सेतो वा पहेँलो खकार, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । गर्मी मौसममा धेरै जसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पु-याउँछ । 

फुड प्वाइजनिङ, झाडापखाला 

गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो । का“चो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौँ, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । तीन पटकभन्दा बढी पातलो दिसा हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्या देखा पर्दछन् । 

बान्ता र पखाला सँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । यस्तो पखाला पुरानो कोलाइटिस, अपच, तीव्र चिन्ता, काँचोकचिलो, बासी खानाले नै प्रमुखतया लगाउँछ । भिब्रियो कोलेराले आन्द्रामा सङक्रमण् गर्दा हैजा लाग्छ । हैजा लागेपछि धेरै पटक चौलानी पानी जस्तो पातलो दिसा र बान्ता एकै पटक लागिरहन्छ । तीव्र गतिमा जलहरण भई बिरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ ।

टाइफाइड

सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिँगा र अन्य किरा फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने सङक्रमक रोग टाइफाइड हो । विषमज्वर अथवा म्यादी ज्वरोमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथ । सुरुमा यो रोग रुघाखोकी लाग्दा जस्तै जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । बिरामीलाई भोक नलाग्ने र बिस्तारै सिकिस्त हुँदै जान्छ । अन्य लक्षणमा ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि हुन् । मुख्य गरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुन सक्छ । यसमा कलेजो र फियो सुन्निन सक्छ । 

जुका

हात्तीपाइले, गोलो जुका, फित्तेजुका, अङ्कुशेजुका र चुर्नाजुका दिसाबाट उत्सर्जित हुने हुनाले दिसाबाट सम्पर्कमा आउने माटो, सागसब्जी, फलफूल, पानी, दुध र अन्य खाद्यपदार्थ तथा दिसा बसिसकेपछि राम्रोसँग हात नधुँदा, मासु काँचै खाँदा, जुकाका फुल, लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्दछन् । पेट दुख्ने, फुल्ने, अपच हुने, गुददार चिलाउने, बान्ता हुने, पातलो दिसा हुने र पछि गएर जटिलता देखिन्छ । 

बढी देखिने अर्को रोग आउँ हो । रगत र आउँयुक्त हल्का पखालादेखि रगतयुक्त चर्को पखाला चल्छ, वाकवाकी, कम्प ज्वरो आउँछ, आन्द्रामा सङ्क्रमण भई घाउसमेत हुन सक्छ । ज्वरो आउने तथा पेट दुख्ने हुन्छ । पखाला, झाडा बान्ता, आउँ, टाइफाइड, हैजामा जति पानी खेर जान्छ त्यति नै पानी र लवण दिनु पर्दछ ।  

लामखुट्टेजन्य रोग

गर्मीमा तराईतिर बढी लामखुट्टे लाग्छन् ।  लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस  र परजीवीद्वारा लाग्ने खतरनाक रोग पनि पर्दछन् । सङ्क्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाइ र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाइ र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया र लामखुट्टेको टोकाइबाट जाप्निज इन्सेफलाइटिस पर्दछन् । संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

अव्यवस्थित सहरीकरण, सावधानीमा कमी तथा मौसम परिवर्तनका कारण डेङ्गु मात्र नभई औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिनप्रतिदिन बढ्दै र प्रकोपको रूप लिँदै छन् । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महìवपूर्ण रहन्छ । जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्छ । यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यति प्रभावकारी रूपमा अघि बढेको देखिँदैन । नियमित हुनुपर्ने अध्ययन अनुसन्धान, प्रकोपको पूर्वानुमान, अनुकूलन उपचार पद्धति निर्माण गर्न उपेक्षित र प्रशासनिक चपेटामा छ ।

त्यसो त महामारी देखाउने औलो, डेङ्गु, इन्सेफलाइटिसलगायतका कीटजन्य रोग लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु पर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नु पर्छ । कुनै पनि किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक, अप्राकृतिक भाँडालाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नु पर्छ । 

गर्मीयाममा विशेषगरी तराई र गर्मी ठाउँमा लामखुट्टेको टोकाइबाट बच्न हम्मे हम्मे पर्दछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन; जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्छ । लामखुट्टेको बच्चा, लामखुट्टे तथा परजीवी नास गर्न, लामखुट्टेको टोकाइबाट बच्न जनचेतनामा अभिवृद्धि गरी उपरोक्त महामारी रोक्न सकिन्छ ।

अन्त्यमा गर्मीयाममा विभिन्न किसिमका रोग लाग्न सक्छन्, त्यसैमा जलवायु परिवर्तनका असरले दिनभर गर्मी तथा बेलुका चिसो तथा एक दिन गर्मी तथा अर्काे दिन जाडो हुने पटक पटक भइरहेको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेश हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनु पर्छ; जसका लागि भोजनमा सतर्कता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको कीटाणुरहित पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनु पर्छ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुने गरी खाना खानु हुँदैन साथै वरिपरिको वातावरण सफा राख्नु पर्छ । रोग हाम्रो शत्रु हो, त्यसैले हरेक दिन र पटकको सावधानी जरुरी छ रोगबाट बच्न ।

लेखक केन्द्रीय कारागार अस्पतालका निर्देशक हुनुहुन्छ । 

Author

डा. प्रकाश बुढाथोकी