• १२ मंसिर २०८१, बुधबार

ठोकर्पा आधारभूत अस्पताल सञ्चालनमा

blog

सुनकोशी गाउपालिका वडा १ मा एकएक पाइला ठोकर्पा आधारभूत अस्पताल उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ ४ गते । सुनकोशी गाउँपालिका –१ मा एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले बिहीबार उद्घाटन गर्नुभएको छ । बिहीबार मन्त्री बस्नेतले अस्पताल उद्घाटन गर्नुहुँदै देशभरको अस्पतालको स्तरोन्नति गर्ने र पैसाको अभावमा उपचार मृत्यु नहुने बताउनुभयो । 

"गरिब विपन्नले उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदैन, यसको जिम्मा सरकारले लिनुपर्छ", उहाँले भन्नुभयो, "स्वास्थ्य मन्त्रालयमा कुनैपनि बिरामीलाई उपचार खर्च दिनसक्ने कोष छैन । त्यसकारण व्यक्तिगत सहयोग गर्नुपर्ने अवस्था छ । यस्तो कोषको व्यवस्था गर्न सरकारलाई प्रस्ताव राखेको छु ।" 

आफ्नै कार्यकालमा स्वास्थ्य मन्त्रालयले परिणाममुखी काम गर्ने उद्घोष गर्दै मन्त्री बस्नेतले ठुला नेताले उपचारको क्रममा विदेशमा गएर ठुलो रकम बाहिरिने भएकाले यस्तो परिपाटीको अन्त्य गर्नुपर्ने जनाउनुभयो । 

सुनकोशी गापा १ ठोकर्पामा स्वास्थ्य शिविरबाट सुरु भएको अभियानबाट अहिले एकएक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण भएको छ । स्विडेन नेपाल सोसाइटीको आर्थिक सहयोग तथा बिल्ड अफ नेपालको प्राविधिक सहयोगमा निर्माण सुरु भएको संरचनाअन्तर्गत विदेशी दातृ निकायको ३५ लाख लागतमा ब्लक ए को पहिलो तल्लाको भौतिक निर्माण सम्पन्न भएको उक्त अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिनुभयो ।

तीन करोड ८३ लाख रुपियाँमा निर्माणाधीन अस्पताल सुनकोसी गापा र जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा निर्माण भएको उहाँले बताउनुभयो । "उक्त अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान छ, हाल दैनिक ४५ सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ, स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा प्लान्ट स्थापना र सञ्चालन सम्भव भएको हो", उहाँले भन्नुभयो । 

अस्पताल सञ्चालन गर्नको लागि ०७८ असोज १ गते गैरनाफामूलक स्वयंसेवी संस्था एकएक पाइला फाउण्डेसनसँग ७ वर्षको लागि सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप फाउण्डेसनले दुई करोड ९० लाख रुपियाँ बराबरको उपकरण र मेसिन खरिद गरिदिएको छ । अस्पतालमा इमरजेन्सी, ओपिडी, दन्त ,आँखा, ल्याब सेवा, फार्मेसी, एक्स रे, भिडियो एक्से रे, चस्मा पसल, प्रत्येक महिना विशेषज्ञ सेवा , बर्थिङ सेन्टरजस्ता महत्त्वपूर्ण सुविधा अस्पतालले दिने डाक्टर विनोद रानामगरले जानकारी दिनुभयो । "गाउँको अस्पतालबाट सहरका अत्याधुनिक अस्पतालझै सेवा दिइरहेका छाै‌," उहाँले भन्नुभयो । 

सो अस्पतालमा लैगिंक हिंसासम्बन्धी सङ्कट व्यवस्थापन केन्द्र तथा सामाजिक सेवा एकाइ लागु गरिएको छ । हिंसामा परेका बिरामीलाई निःशुल्क तथा सामाजिक सेवा इकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा बालबालिका, विपद् एवं प्राकृतिक प्रकोपमा परेका पीडित, सीमान्तकृत, लोपोन्मुख, जनजाति, कुपोषित बालबालिका, थुनुवा कैदी बिरामी, सहिद परिवार उनीहरूको अवस्था हेरेर २५ प्रतिशतदेखि पूर्ण रूपमा छुट दिने अध्यक्ष कार्कीले बताउनुभयो । "अहिले अस्पतालको लागि नियमित विशेषज्ञिय सेवा एम डी जी पी सहित एम्बुलेन्स अभाव छ, मन्त्री बस्नेतलाई आग्रह गरेका छौँ," उहाँले भन्नुभयो ।