बाबुराम देवकोटा
सिन्धुलीमाढी, जेठ ४ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका –१, डुडभन्ज्याङको वडा कार्यालय छ वर्षदेखि विद्यालयबाट चल्दै आएको छ । वडाले सेवाग्राहीलाई सेवा प्रवाह गर्न गाउँकै कामदा मावि, डुडभन्ज्याङको एउटा कोठालाई सुरुदेखि नै वडा कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ ।
वडा कार्यालयमा प्रयोग हुने सामान भने मासिक दुई हजार पाँच सय रुपियाँ तिरेर व्यक्तिको घरमा राख्दै आएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु हुँदा पनि वडाको भवन निर्माण नहुँदा यो समस्या आएको उहाँको गुनासो छ ।
वडाध्यक्ष बरालले भन्नुभयो, “विद्यालयकै कोठामा पहिलो कार्यकाल बित्यो । पहिले शान्ति मन्त्रालयले बजेट हालेर बनाएको भवन अधुरो अवस्थामा छ । यो वर्ष गाउँपालिकाले दिएको आठ लाख रुपियाँ बजेटबाट उक्त भवन मर्मत गरी सर्ने तयारी गर्दै छौँ ।”
आफ्नै भवनको अभावमा वडाको बैठक बस्नु पर्दा खुला चौरमा बस्नुपर्ने अवस्था छ । अरू प्रशासनिक काम भने विद्यालयले दिएको साँघुरो कोठाबाट दुःखसुख चलाउँदै आएको बरालले बताउनुभयो । वडाले विद्यालयलाई भाडा भने तिर्नु परेको छैन । गोलन्जोर गाउँपालिकाकै वडा नं. ७ को कार्यालय पनि स्वास्थ्य चौकी खुर्कोटको भवनबाट चल्दै आएको छ । स्वास्थ्य चौकीको भवनको कोठा धेरै भएकाले त्यसैलाई वडा कार्यालयका रूपमा प्रयोग गर्दै आएको वडाध्यक्ष रेगनराज थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले वडा कार्यालय भवन भ्याटबाहेक २८ लाख ५० हजार रुपियाँको लागतमा गत चैतदेखि निर्माणाधीन छ । यही असारसम्म निर्माण पूरा गरी सर्ने तयारी गरेका छौँ ।”
त्यस्तै तीनपाटन गाउँपालिका–८ को वडा कार्यालय पनि गाउँकै आयुर्वेद भवनमा छ । मरिण गाउँपालिका–५ को कार्यालय महिला सञ्जालको भवनबाट सञ्चालन हँुदै आएको छ । मरिण गाउँपालिकाका सात वडामध्ये वडा नं. १ र ३ को कार्यालयले भने भाडाको घरबाट सञ्चालन हुँदै आएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार मरिण गाउँपालिकामा वडा नं. २ र ४ को आफ्नै भवन छ भने वडा नं. ६ पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ । वडा नं. ३, ५ र ७ को भवन भने शिलान्यास भएर यो वर्षदेखि निर्माण सुरु भएको छ ।
आफ्नै भवन नहुने वडा कार्यालय जिल्लामा यति मात्र छैनन् । नौ वटा स्थानीय तहको कुल ७९ वटा वडामध्ये १५ वटा वडा कार्यालय भवनविहीन छन् । कुनै वडा कार्यालय भाडाका घरमा छन् भने कुनै सामुदायिक भवनमा । स्थानीय तहको निर्वाचनको दोस्रो कार्याकाल सुरु हुँदा पनि स्थानीय तहले आफ्नै भौतिक संरचना बनाउन नसकेको स्थानीयवासीले बताएका छन् ।
सुविधायुक्त भवनको अभावमा स्थानीय तहको सेवा प्रवाह चुस्त र प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो छ । कमलामाई नगरपालिकाका १४ वटा वडामध्ये १, ४, ५, ६, ७, ८ र १३ नं. वडाको आफ्नै भवन छैन । गोलन्जोर गाउँपालिकाका सात वटा वडामध्ये १ र ७, तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये ८, सुनकोसी गाउँपालिकाका सात वटा वडामध्ये ४ नम्बर वडाको र मरिण गाउँपालिकाका सात वटा वडामध्ये १, ३ र ५ नं. वडाको आफ्नो भवन छैन । फिक्कल गाउँपालिका–६ को पनि आफ्नै भवन छैन । बाँकी दुधौली नगरपालिकाले १४ वटै वडामा एउटै नमुनामा स्थानीय तहको निर्वाचनपछि वडा कार्यालय भवन निर्माण गरेको छ ।
घ्याङ्लेख र हरिहरपुरगढी गाउँपालिकाले पनि आफ्ना सबै वडामा पक्की कार्यालय भवन निर्माण गरेका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा उक्त पालिकाका सात वटामध्ये वडा नं. ४ बाहेक सबै वडाको आफ्नै भवन रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वडा नं. ४ मा जग्गाको विवादले दुई पटक गरी ४० लाख रुपियाँ विनियोजन गर्दासमेत वडा कार्यालय भवन निर्माण हुन सकेन । सबैलाई पायक पर्ने ठाउँमा घडेरी खोज्दा जग्गाको विवाद छ ।”