• ५ जेठ २०८१, शनिबार

संसदीय समिति सञ्चालनका लागि आचारसंहिता बनाएर अघि बढ्नुपर्छ : सांसद थापा

blog

राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, जेठ २ गते । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताउनुभएको छ ।

मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै सांसद थापाले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरू कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभएको हो ।

सांसद थापाले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताउनुभयो । उहाँले समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको बताउनुभयो । समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

‘‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्यूले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो । सामान्यतया २४ घण्टाको समय पनि नराखीकन । सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरू यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय यो भन्दा अघि हामीले बैठकमा नै सहभागी हुँदैनौँ भन्नुपरेको थियो ।,’’ सांसद थापाले भन्नुभयो, ‘‘आकस्मिक समय बाहेक अरू अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रस्ताव गरोस् । विधेयक बाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ । समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौँ, जे बोल्न पनि पाउँछौँ, भन्नेगरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रस्तुत हुने भनेर आचारसंहिता बनाउनुपर्छ ।’’

सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिनुभयो ।