• १४ मंसिर २०८१, शुक्रबार

ट्रकमा एम्बुलेन्स ठोक्किँदा चार घाइते

चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

दुर्घटनाग्रस्त ट्याक्टर । तस्बिर : चितवन प्रहरी

शान्ता अधिकारी

चितवन, जेठ २ गते। चितवनको खैरहनीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी ४ कएरखोला बाट ग्राभेल बोकेर गुडेको ना ६ त १०७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

च्यापिएर गम्भीर घाइते भएका खैरहनी २ घर भएका २० वर्षीय चालक दीपक परियारको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

त्यस्तै, ट्रकमा एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालकसहित चारजना घाइते भएका छन्। नारायणगढ मुग्लिङ सडकखण्डको भरतपुर १ रामनगरमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा बिरामी बोकेर भरतपुरतर्फ आउँदै गरेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स ठोक्किँदा चार जना घाइते भएका हुन्। 

दुर्घटनामा एम्बुलेन्स चालक गोरखा वारपाक सुलिकोट गाउँपालिका -६ का ५४ वर्षीय एकबहादुर सुनार, गोरखा नगरपालिका -६ का ३५ वर्षीय सुदिप गौतम, उहाँकी श्रीमती २८ वर्षीया श्रृजना गौतम र सोही स्थानका मीना कोइराला घाइते हुनुभएको हो। 

घाइतेमध्ये चालक सुनारको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार एम्बुलेन्स श्रृजना गौतमलाई डेलिभरीको लागि गोरखाबाट भरतपुरतर्फ आउँदै थियो। सबै घाइतेको उपचार भरतपुरस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ। 


रोकिएको ट्रकमा ठोक्किँएको एम्बुलेन्स। तस्बिर सौजन्य : चितवन प्रहरी