• १२ मंसिर २०८१, बुधबार

स्वतन्त्र प्रेसप्रतिको असहिष्णुता

blog

एम्नेस्टी इन्टरनेसनलसमेत अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ संस्था र समूहले असान्जमाथिको मुद्दालाई प्रेस स्वतन्त्रताका लागि खतरा भनेर आवाज उठाउँदै आएका छन् । अमेरिकी सञ्चारकर्मी नै बढी आन्दोलित देखिन्छन् किनभने सरकारी ज्यादतीले संविधानको पहिलो संशोधनद्वारा नागरिकलाई प्रदान गरिएको स्वतन्त्रता कुण्ठित गर्छ भन्ने तिनको निष्कर्ष छ ।

वैशाख महिनाको आखिरी हप्ता । विश्वभर प्रेस स्वतन्त्रता विषयक चर्चा, बहस बाक्लिने याम । नेपालको राष्ट्रिय पत्रकारिता दिवस पनि उही सातामा पर्ने । चर्चा–परिचर्चाको यसै सेरोफेरोमा फेरि एकपल्ट परेको छ– अस्ट्रेलियाका सम्पादक जुलियस असाञ्जको अवस्था । अमेरिकी सरकार अमेरिकाको सुरक्षामा आँच आउने काम गरेको आरोप सामना गर्न असाञ्जलाई आफ्नो देश ल्याउन कानुनी पहल गर्दै छ । पहलभन्दा पनि बढी बेलायतमाथि कूटनीतिक दबाब दिइरहेको छ । 

छोटोमा भन्नुपर्दा शक्ति राष्ट्रको अहम् प्रदर्शन गरिरहेको छ । नत्र बेलायतमा अस्थायी बसोबास भएको अस्ट्रेलियाको नागरिकलाई अमेरिका प्रत्यार्पण (सुपुर्दगी) गराई मुद्दा चलाउने प्रयोजन किन पर्छ ? मुद्दा पनि १८ वटा र अमेरिकी अभियोजनकर्ताहरूले मागेबमोजिम सजाय हुने हो भने १७५ वर्षसम्म कैद हुने । सरासर हास्यास्पद हर्कत । कदाचित् यो अमेरिकी योजनाअनुसार असाञ्जलाई अभियुक्तका रूपमा अमेरिका लगियो भने विश्वभरि नै प्रेस स्वतन्त्रता खतरामा पर्ने छ । बुढी मरी भन्ने चिन्ताको साथसाथै काल पल्क्यो भन्ने भय यत्रतत्र फैलिने छ ।

सघन चासो, गहिरो चिन्ता

५२ वर्षीय असाञ्ज विगत चार वर्षदेखि बेलायतको एक बन्दीगृहमा राखिएका छन् । भन्न त उनलाई बेलायतको कानुन मिचेको एउटा बेग्लै मुद्दामा थुनामा राखिएको हो भनिन्छ तर यथार्थमा असाञ्जलाई शक्तिशाली देशको दबाबमा बन्दी बनाएर राखिएको छ– यसै भन्छिन् उनकी पत्नी स्टेला मोरिस् । असाञ्जको शारीरिक स्वास्थ्य उनले लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिनु परेको बेलादेखि (जुन २०१२) नै प्रेसजगत्को चासोको मामिला रहिआएको छ । हालैमा उनको मानसिक स्वास्थ्यबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजीले लन्डन पुगेका बखत सार्वजनिक रूपमा चिन्ता जनाए । संयुक्त अधिराज्य बेलायतका नयाँ राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सामेल हुन गएका बखत अल्बेनिजीले आफ्नो असन्तोष जाहेर गरेका हुन् । उनको कथनप्रति सहमति जनाउने व्रmममा अस्ट्रेलियाको विपक्षी दलका नेताले तत्कालैजसो भने– हो, असाञ्जको मामिला निकै नै लम्बिन गएको देखिन्छ ।

२६ वैशाखका दिन अस्ट्रेलियाको संसद्को एक राजधानी क्यानबेरास्थित अमेरिकी राजदूत क्यारोलाइन केनेडीसँग गरेको भेटघाटलाई यसै सन्दर्भमा हेर्न सकिन्छ । एक जना स्वतन्त्र सांसदको नेतृत्व थियो; जसमा तीन वटा प्रमुख दलका चार सदस्य रहेको टोलीले राजदूतसमक्ष असाञ्जबारेको संसदीय चिन्ता प्रकट गरेको घटनाले अमेरिकी सरकारमाथि थप दबाब पर्न थालेको अनुमान छ । जेठको दोस्रो साता अमेरिकी राष्ट्रपति बाइडेन अस्ट्रेलियाको भ्रमणमा जानुअगावै वा त्यसै बखत असाञ्जको मामिला सुल्झियोस् भन्ने प्रेस स्वतन्त्रता पक्षधरहरूको चाहना रहेको बुझिन्छ । 

जनहितका सूचना

असाञ्जलाई विवादमा तानिएको १३ वर्ष भइसक्यो । सन् २०१० को घटना हो, उनको ‘विकिलिक्स’ नामक माध्यममार्फत पश्चिमी देशका पाँच वटा समाचारपत्रलाई ती सूचना र जानकारी सार्वजनिक गराए; जुन उनले अमेरिकी प्रतिरक्षा मन्त्रालयको एक स्रोतबाट प्राप्त गरेका थिए । ती सूचनाले अमेरिकी सरकार कुन भद्दा शैलीमा पहिले इराकमा र पछि अफगानिस्तानमा सैनिक हस्तक्षेप गर्दै थियो, त्यसको झलक दिएका थिए । असाञ्जले जे गरे त्यो सार्वजनिक हितमा गरे । त्यसबाट सर्वप्रथम अमेरिकी जनता सुसूचित भए; तत्पश्चात् बाँकी विश्वका जनतालाई अमेरिकाले सुरु गरेका लडाइँका असर र सम्भाव्य असरबारे जानकारी मिल्यो । सारांशमा, यो जनहितका लागि गरिएको काम थियो । किनभने लुकाइराखिएका सूचनालाई जनहितमा जनसमक्ष पु¥याउनु नै पत्रकारिता हो । 

असाञ्ज र उनका सहयोगीहरूले गरेको काम त्यही हो यद्यपि उनको यस साहसलाई सूचना लुकाउन अभ्यस्त मानिसले भने दुस्साहस ठानेका होलान् । कदाचित् जुलियन असाञ्जले गरेको काम जनहितमा नहुँदो हो त उनले उपलब्ध गराएका सूचना सङ्ग्रहलाई न्युयोर्क टाइम्स र युरोपका चार वटा ख्यातिप्राप्त अखबारले एकसाथ प्रकाशित गरेर मामिलालाई विश्वव्यापी चासोको विषय कदापि गराउने थिएनन् । बेलायतको गार्डियन, फ्रान्सको ल मोन्ड, जर्मनीको डेअर स्पिगल र स्पेनको एल पाइस्समेतका पाँच वटा छापाले सन् २०१० को २८ नोभेम्बरका दिन सर्वप्रथम त्यस मामिलालाई सार्वजनिक गरेका थिए । पछि–पछि अन्य समाचार माध्यमले पनि त्यसबारे आफ्ना पाठक–दर्शक–श्रोतालाई अवगत गराए । यो व्रmम रोकिएको छैन ।

नेपाललगायत विश्वभर छरिएर रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावास गरी २७४ स्थानमा रहेका नियोगबाट राजधानी वासिङ्टन पठाइएका सन्देश/प्रतिवेदन (केबुल) का प्रतिलिपिमा भेटिएका सूचनाहरूले पनि इराक र अफगानिस्तानमा अमेरिकाले अपनाएको अग्राह्य कार्यशैलीलाई चित्रित गरेका थिए । उतिखेर नै चर्चामा आएको कुरो हो, झन्डै अढाई लाख जति कागजपत्र, लिखत केलाएर जनसरोकारका विषयको टिपोट तयार गर्न चानचुने अठोट र मेहनतबाट सम्भव थिएन । यस्तो काम गर्ने असाञ्जको टोली स्याबासीको पात्र हुनुपर्ने हो तर एकथरी सरकारी मानिस उनलाई दण्डित गराउने उपायको खोजीमा व्यस्त छन् !

सूचकको साहस

असाञ्जले सङ्कलन-सम्पादन गरी वितरणमा लगेका सूचनाका स्रोतको मुख्य स्रोत थिए – ब्य्राड्ली म्यानिङ । २५ वर्षीय म्यानिङ अमेरिकी सैनिक निकायका त्यस्ता युवक थिए; जसले सूचना विश्लेषकको प्रारम्भिक जिम्मेवारी पाएका थिए तर कामको व्रmममा उनलाई के लाग्यो भने अमेरिकी सरकारले त्यस बखत जे–जे गरिरहेको थियो त्यो मानव हित र विश्वकल्याणका लागि उपयुक्त थिएन । तसर्थ उनले आफूले गलत ठानेका गतिविधिको जानकारी जनसाधारणमाझ पुगोस् भनेर सूचनाहरू असाञ्जको विकिलिक्सलाई उपलब्ध गराउँदै रहे । उनी पत्रकारका लागि स्रोत बने; सूचकको भूमिकामा रहे तर उनको त्यो कार्य सरकारी दृष्टिकोणबाट गैरकानुनी थियो । 

तसर्थ उनी थुनामा परे र उनीमाथि मुद्दा चल्यो । अदालतबाट ३५ वर्षको कारावासको सजाय पाए । परन्तु अन्य मुद्दामा दोषी ठह¥याइए तापनि ‘शत्रुलाई सघाएको’ (राज्यविरुद्धको द्रोह) मूल अभियोगमा भने उनी दोषी ठहरिएनन् । त्यसकै आधारमा सन् २०१७ मा राष्ट्रपति ओबामाले सात वर्ष कैद भुक्तान भइसकेको अवस्थामा बाँकी सजाय माफी गरी उनलाई रिहा गराइदिए । (म्यानिङ त्यस बखत लिङ्ग परिवर्तन गराई पुरुषबाट महिला भइसकेकी थिइन् ।) ओबामा राष्ट्रपति छँदा अहिलेका राष्ट्रपति बाइडेन उप–राष्ट्रपति थिए; सबै सन्दर्भबारे जानकार छन् । यसरी विकिलिक्सलाई सूचना दिने सूचक (ह्विसेलब्लोअर) ले माफी पाइसकेको स्थितिमा अमेरिकी सरकारले असाञ्जलाई दुःख दिइरहनु आश्चर्य लाग्ने कुरो हो । त्यसमाथि सन् १९१७ को जासुसीसम्बन्धी ऐनको आधार लिएर । 

खासमा त्यो ऐन पहिलो विश्वयुद्ध (सन् १९१४–१८) चालु रहँदाका जासुसी व्रिmयाकलाप रोक्न बनाइएको थियो । एक शताब्दीपछि त्यसको के सान्दर्भिकता रहन्छ ? जहाँसम्म विकिलिक्सबाट कूटनीतिक लिखतहरू छरपस्ट हुन गए भन्ने सिकायतको प्रश्न छ, त्यसमा जानकार अमेरिकीहरू नै आपत्तिजनक सूचना चुहुन गयो भन्ने सरकारी दाबीको समर्थनमा देखिएका छैनन् । सरकारले गोप्य रहनुपर्ने दूतावासका लेखापढी बाहिर जानाले त्यसमा उल्लेख भएका नाम र व्यक्तिहरूको जिउज्यान जोखिममा पर्न गयो भनेर गरेको जिकिरको पनि दह्रो आधार देखिएन । अनि अहिलेसम्म ती लिखतमा नाम परेको कारणले कसैको ज्यान गएको घटना सुनिएको छैन ।

खुलापत्रको सन्देश

यसैबिच पाँच महिनाअघि पहिलेदेखि चर्चित पाँच वटै अखबारका सम्पादक‍–प्रकाशकले अमेरिकी सरकारलाई सम्बोधन गर्दै एक खुलापत्र प्रकाशित गरे; जसमा असाञ्जउपरका आरोपहरू फिर्ता लिन माग गरिएको छ । विश्वभरिकै माध्यमले चर्चा गरेको यस खुलापत्रमा ‘प्रकाशन कुनै अपराध होइन’ भन्ने सामूहिक आवाज प्रतिध्वनित भएको छ । यो खुलापत्र विकिलिक्समा पहिलो समाचार छापिएको १२ औँ वर्षमा प्रकाशित भएको हो । (२८ नोभेम्बर २०१०)  

एम्नेस्टी इन्टरनेसनलसमेत अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ संस्था र समूहले असाञ्जमाथिको मुद्दालाई प्रेस स्वतन्त्रताका लागि खतरा भनेर आवाज उठाउँदै आएका छन् । अमेरिकी सञ्चारकर्मीहरू नै बढी आन्दोलित देखिन्छन् किनभने सरकारी ज्यादतीले संविधानको पहिलो संशोधनद्वारा नागरिकलाई प्रदान गरिएको स्वतन्त्रतालाई कुण्ठित गर्छ भन्ने तिनको निष्कर्ष छ । यस सिलसिलामा अन्य दुई कुराले पनि अमेरिकी सरकारलाई अप्ठ्यारो पार्ने देखिएको छ: १) कारबाही असाञ्जलाई मात्र गरेर पुग्दैन; विकिलिक्सको सामग्री प्रकाशित गर्ने अमेरिकी अखबारलाई पनि कारबाही गर्नुपर्ने हुन्छ । अझ युरोपका अन्य चार अखबार र तिनलाई उद्धरण गरेर सूचना प्रवाह गर्ने अन्य सयकडौँ, हजारौँलाई कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ । यो कति सम्भव होला ? 

२) ४० वर्षभन्दाअघि अर्थात् सन् १९७१ मा वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सले भियतनामको लडाइँबारेका त्यस्तै सही सूचना ‘पेन्टागन पेपर्स’ नामबाट प्रकाशित गरेका थिए । त्यस बखत सूचना चुहाउने मानिस ठहरिए ड्यानिएल एल्सबर्ग तर अदालतले उनीमाथि लागेका सबै अभियोग खारेज गरिदियो । वास्तवमा उनले पव्रmाउपछिको प्रारम्भिक बयानमै शत्रुबाट सूचना जोगाउने निहुँमा अमेरिकी जनताबाट सूचना लुकाउने सरकारी कार्यमा मतियार हुन नसकेर आफूले रहस्य खोलिदिएको कुरा स्वीकार गरेका थिए ।

अन्त्यमा

विश्वभरका लोकतान्त्रिक प्रणाली भएका देशहरूको अगुवा कहलिएको अमेरिका स्वतन्त्र प्रेसको मामिलामा अग्निपरीक्षाको सामना गर्दै छ । हेरौँ, असाञ्जको घटनामा बाइडेन प्रशासन कति यथार्थवादी हुन सक्दो रहेछ । 

लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।