काठमाडौं, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भई गत वैशाख २७ गते निधन भएका जिउँदो शहीद बनेपाका मुकेश कायस्थको परिवारमा दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दुःख व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाहरूको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र मुकेशको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गर्नुभएको छ ।
त्यस्तै, बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताउनुभयो ।
बनेपा नगरपालिका प्रमुख शन्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाई माग पत्र हस्तान्तरण गर्नुभयो ।
दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
वि.सं. २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ वर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।