तनहुँ, जेठ १ गते । तनहुँमा इनारमा डुबेर एक युवकको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा व्यास नगरपालिका –१३ पोखरीभञ्ज्याङमा काम गर्ने २७ वर्षीय विपिन भन्ने छत्रबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा सुमन एन्ड सचिन पोल्ट्री फार्ममा काम गर्दै आउनुभएका ऋषिङ गाउँपालिका –७ निवासी आलेको इनार सफा गर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानबहादुर आलेले सञ्चालन गरेको सो फार्ममा डोरीको सहायतामा इनारभित्र पसी सफा गर्ने क्रममा अक्सिजनको कमीले गर्दा आलेको मृत्यु भएको हो ।
अक्सिजनको कमीले अचेत भएपछि उपचारको दमौली अस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले आइतबार मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।