समाज विविधतायुक्त हुन्छ । एउटै प्रकृतिका मानिस सबै हुँदैनन् । सबै मानिसबाट समान व्यवहार, आचरण र चालचलनको अपेक्षा गर्न सकिँदैन र हुँदैन पनि । सदाचारी, भ्रष्टाचारी, क्षमतावान्, क्षमताहीन, समाजसेवी, स्वार्थी आदि सबै खाले मानिस समाजमा भेटिन्छन् । कथनी र करनी एउटै भएका र बोल्ने एउटा गर्ने अर्कै स्वभाव भएका एउटै समाजमा रहेका हुन्छन् । अरूको पीडामा सँगसँगै रुने र अरूको दुःखमा रमाउने दुवै स्वभावका मानिसले समाज बनेको हुन्छ । रामराज्यमा त सीतालाई अन्याय हुन पुगेको थियो भने कलियुगको नेपालमा न्यायै मात्र मिल्छ भन्ने अपेक्षा सायदै कसैले गरेको होला ।
राजनीतिक दल यही समाजबाट निर्मित हुन्छन् । समाजको प्रतिरूप दलहरूमा देखिनु कुनै अनौठो कुरा होइन । देश र समाजको नितान्त सेवा गर्दछु भन्ने भावनाका साथ राजनीतिमा समाहित भएका पनि दलहरूमा छन् र राजनीतिका माध्यमबाट सत्तामा पुगेर शक्ति आर्जन गर्दै सत्ता शक्तिका माध्यमबाट आफ्ना पनाति पुस्तासम्मलाई पुग्ने गरी सम्पत्ति जोड्ने उद्देश्यले सव्रिmय भएका पनि त्यत्तिकै सङ्ख्यामा छन् । सच्चा राजनीतिज्ञ सत्तामा पुगे भने जनताको भाग्य ठहरिन्छ । दुराशय भावनाका साथ राजनीतिमा होमिएकाको हालीमुहाली हुँदा देश र जनता दुवैको दुर्भाग्यले डेरा जमाउन पुग्दछ ।
पुराना दलमा सबै स्वार्थी समूहको भीड छ भन्ने जुन भाष्य स्थापित गर्न प्रयास गरिएको छ, त्यो किमार्थ पूर्ण सत्य होइन । आमनागरिकको स्वतन्त्रताका निमित्त ज्यान हत्केलामा राखेर जेलनेल भोग्दै सङ्घर्षमा होमिएका पुराना दल र ती दलका नेता तथा कार्यकर्ता नै हुन् । नयाँ उदाएका सबै नेता र दल पूर्णतः देश र जनताप्रति समर्पित छन् र भ्रष्टाचारका विपक्षमा छन् भन्ने भावनाले जनताका मनमा स्थान जमाउन खोज्दै छ, त्यसलाई पनि शतप्रतिशत सत्य भनेर स्वीकार गर्ने अवस्था पछिल्ला परिदृश्यले दिएका छैनन् ।
नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको प्रकरणले पुष्टि गरिसकेको छ तर पुराना कतिपय नेताका व्रिmयाकलापले त्यसलाई ओझेलमा पारेको मात्रै हो । समाजमा धन भएकालाई मान्ने चलन छ । विद्या, बुद्धि, विवेक आदिले परिपूर्ण सदस्यलाई भन्दा बढी गाडी, भव्य घर, शानशौकतले भरिपूर्ण मानिसलाई समाजका भेला, भेटघाट र बैठकमा प्राथमिकता दिने गरिन्छ तर उसले सम्पत्ति कसरी कमाएको छ भन्नेमा कुनै ख्याल गरिँदैन ।
कर तिरेर, नियम कानुनले दिएको अधिकार प्रयोग गरी सदाचारयुक्त व्यवहारका माध्यमबाट आर्जन गरेकालाई मानसम्मान दिनु त पर्दछ नै तर दुई नम्बरी र एक नम्बरीका बिचमा कुनै भिन्न व्यवहार गर्ने गरेको पाइँदैन । यसैले जसरी पनि धन आर्जन गर्नु पर्छ भन्ने सोचको विकास हुँदै गएको छ । असल र खराबका बिचमा स्वीकार र तिरस्कार गर्ने बानी समाजमा बस्न सकेन भने भ्रष्टाचार गर्ने प्रवृत्तिले प्रश्रय पाउँदै जाने कुरामा कुनै शङ्का छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर मुलुक अहिले व्यापक हलचलको अवस्थामा छ । विशेष गरी देश र जनताको जिम्मेवारी लिएर बसेका उच्चपदस्थ पदाधिकारीमाथि नै अभियोग लागेका कारण शासकीय व्यवस्थादेखि लिएर पुराना दलका आचरणका सम्बन्धमा विविध प्रश्नको ओइरो लागेको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा देशै चलाउनुपर्ने उपप्रधानमन्त्री, मुलुककै शान्तिसुरक्षा र सुशासनको प्रत्याभूति दिलाउनुपर्ने गृहमन्त्रीका साथै गृहसचिव जस्तो संवेदनशील पदाधिकारी मुछिएपछि गणतन्त्रप्रति अनुदारहरूले सल्बलाउने मौका पनि पाएका छन् । सङ्घीयताका विरुद्धमा मात्रै बोल्दै आएकासमेत गणतन्त्रलाई दोषारोपण गर्न उक्सिएको पाइन्छ ।
सोच्नुपर्ने कुरा के हो भने यो प्रकृतिका घटना सम्भव हुने भनेको गणतन्त्रमै हो । अवसर पाउँदा भ्रष्टाचार गर्नेको सङ्ख्या बढ्न सक्ने व्यवस्था पनि गणतन्त्र नै हो र प्रमाण पुग्दा जोसुकै होस्, कारबाहीको दायरामा आउन बाध्य हुने प्रणाली पनि गणतान्त्रिक प्रणाली नै हो । शासकहरू पूर्ण रूपमा लोकतान्त्रिक आचरणमा प्रतिबद्ध नहुँदासम्म सुशासनको प्रत्याभूति दिन चुक्ने वातावरण यही स्वतन्त्र व्यवस्थामा मिल्छ भने चुकेपछि कानुनको कठघरामा बहालवाला शक्तिशाली व्यक्ति भए पनि बाँधिनुपर्ने अवस्था गणतन्त्रमा नै सम्भव हुन सक्छ ।
भ्रष्टाचार गर्ने भनेको पनि उही तानासाहको आडमा हुने गर्दछ । भ्रष्टाचारका माध्यमबाट आर्जन गरिएको रकमको मोटो हिस्सा तानासाहलाई बुझाई सानो अंशमा आउरेबाउरे रमाउने गर्दछन् । तानासाहले निर्दोषलाई दोषी करार गरी कारावासको सजाय तोक्न पनि सक्दछ र जतिसुकै दोषी भए पनि निर्दोष भएको प्रमाण दिने अधिकार त्यही तानासाहसँग मात्र हुन्छ ।
नेपालकै राणाकालीन वा पञ्चायतकालीन इतिहास हे¥यौँ भने पनि ठूला पदमा आसीन भएकाहरू कारबाहीमा परेका घटना बिरलै पाइन्छन् । राणाकालमा एउटाको हातबाट अर्कोको हातमा शक्ति हत्याउन ज्यान मार्नेसम्मका घटना भए होलान् तर भ्रष्टाचार गरेर वा घुस खाएर जेल गएका उदाहरण सायदै भेटिन्छ । पञ्चायतकालमै राजाहरूलाई चित्त नबुझ्दा आफ्नै सेवकलाई दण्ड दिने र चाकरी गरी खुसी तुल्याएसम्म जस्तोसुकै अपराधीले पनि छुट पाउँदै आएको देख्दै आइएकै हो । दरबारका आडमा खुलेआम भ्रष्टाचार गर्नेहरू जनतामाथि थिचोमिचो गर्न पछि नपर्ने गरेको देखेर र भोगेर नै गणतन्त्रका लागि आन्दोलन भएको थियो ।
विसं २०४७ मा प्रजातन्त्र आएपछि जनताका नाममा शासन गर्छु भन्नेहरूले पूर्ण रूपेण सुशासन दिएका थिए भनेर कसैले दावा गर्दैन । विसं २०६३ मा गणतन्त्र आएपछि गठन भएका सरकारले कुशासनको अन्त्य गर्दै देश र जनतालाई नै केन्द्रबिन्दुमा राखेर सत्ता चलाए भनेर ठोकुवा गर्ने पनि छैनन् । ख्याल गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचारीलाई अनुसन्धान गरी कारबाहीको प्रव्रिmया अघि बढाउनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना प्रजातान्त्रिक कालमै भएको हो । अख्तियारले साना माछा मात्रै समात्दै आयो भन्ने गरिन्छ तर पर्याप्त मात्रामा नसके पनि यसअघि पनि केही ठूला माछा कारबाहीमा परेकै थिए र मौका आउँदा पर्ने गरेकै छन् ।
चिन्ता के हो भने पटक पटक अख्तियारको जिम्मेवारी लिएर बसेकाहरूबाटै अख्तियारको उल्लङ्घन भएको समाचार आउनु चाहिँ सुखद होइन । देश डुबाउने गणतन्त्रवादी नै हुन् भनेर औँला ठड्याउने अवसर अहिलेको शरणार्थी प्रकरणले दिएको भने पक्कै हो । पुराना दलका पाका नेताले शासन गर्दासम्म भ्रष्टाचार प्रकरण रोकिँदैन भन्नेहरूलाई अझ बढी व्रिmयाशील हुन यस्ता काण्डले निश्चय नै प्रोत्साहित गर्दछन् । गणतन्त्रका
विरुद्धमा आवाज उठाउन मौका कुरेर बसेकालाई यस्ता प्रकृतिका घटनाले सुनौलो अवसर प्रदान गर्छ भन्ने कुरामा कुनै शङ्का छैन ।
तर, हेक्का राख्नुपर्ने कुरा के हो भने पुराना नेता र पुरानै दलले शासन चलाइरहेका बेलामा भ्रष्टाचारीमाथि कारबाहीको प्रव्रिmया अघि बढाइएको छ । देशको शासनको बागडोर सम्हालेर बसेका दलका नेता नै मुछिँदा पनि यो काण्डका विपक्षमा आवाज उठाउन पाइएको छ र यो अवसर हामीलाई दिएको भनेको गणतन्त्रले नै हो । गणतान्त्रिक व्यवस्था भनेको विविधतायुक्त सम्मिश्रणले सुसज्जित व्यवस्था हो । बहुविचार, बहुधारणा, बहुआस्था आदिको सम्मानपूर्ण समुपस्थिति र सहभागितामा सञ्चालित हुने बहुदलीय गणतन्त्र हो । सबै दलको सिद्धान्त, विचार र दर्शन एउटै प्रकृतिको पक्कै हुँदैन ।
एउटै पार्टीभित्र सिद्धान्तनिष्ठ र सिद्धान्तलाई खोव्रmो आदर्श ठान्ने दुवै खाले नेता भेटिन्छन् । उही राजनीतिक दलभित्र विचारका आधारमा सत्ता र पार्टी सञ्चालन गर्नु पर्दछ भन्ने हुन्छन् भने मुढेबलका आधारमा सदैव सत्ताको स्वाद चाख्न उद्यत पनि उत्तिकै पाइन्छन् । देश र जनताका हितमा चौबिसै घण्टा चिन्तन गरिरहने सदस्य त्यही पार्टीमा हुन्छन् भने आफ्नो, आफ्नो परिवारको र आफ्ना वरपरकाका बारेमा मात्रै सोचिरहने पनि त्यही पार्टीमा हुन्छन् । मात्र यत्ति हो कि कहिले देशभक्त सत्तामा पुग्छ भने कहिले सर्वाधिक भ्रष्टले गणतान्त्रिक शासनकालमा शासन गर्ने अवसर पाउने गर्छ ।
जनता सचेत हुँदा भ्रष्टलाई सदाका लागि सत्ताबाट टाढा राख्न सक्ने व्यवस्था पनि यही गणतन्त्र नै हो । मतदान गर्नुअघि दुई मिनेट मात्रै सोचेर मत खसाल्ने प्रवृत्ति जनतामा विकास हुने हो भने नेपाल र नेपालीको भविष्यमाथि खेलबाड गर्नेहरूलाई सत्ताबाट कोसौँ टाढा राखेर राष्ट्रप्रेमीलाई आफ्नो शासनको साँचो सुम्पिन सकिन्छ । प्रजातन्त्रका लागि गरिएको सङ्घर्ष र गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनमा सहभागिता नजनाएकाहरूका निम्ति गणतान्त्रिक शासकको कमजोरी उजागर गरेर धज्जी उडाउँदै पुरानै व्यवस्थाको वकालत गर्नमा मजा आउने गर्दछ ।
गणतन्त्रले दिएका उपलब्धिको चर्चा–परिचर्चालाई ओझेलमा राखेर विकृत शैलीको प्रचार प्रसारलाई मात्रै उजागर गर्ने एउटा वर्ग हौसिएको छ र त्यसैका पछाडि होमा हो गर्नेहरू पनि देखिँदै छन् । यसैले धेरै प्रश्न उब्जिएका छन् तर अब त्यस्ता प्रश्नको उत्तर धमाधम आउने व्रmम बढ्दै जानुपर्ने अवस्था आएकोमा सबै संवेदनशील हुन जरुरी छ । अहिले आरम्भ गरिएको कारबाही प्रव्रिmयाले आमनागरिकमा आशाको दियो जलाएको छ । गणतन्त्रमाथि प्रश्न उठाउनेहरूका मुखमा पट्टि लगाउने यस्तै क्रियाकलापले नै हो ।
त्यति मात्रै होइन, निराश हुँदै गएका जनताका मनमा उत्साहको सञ्चार गर्न पनि यस्ता निर्णयले मद्दत गर्दछन् तर यही कारबाहीको प्रव्रिmयालाई पनि बिचैमा तुहाउने उद्देश्यले नकारात्मक टिप्पणी गर्ने गरिएको पाइन्छ । काण्डमा संलग्नहरू विभिन्न षड्यन्त्रका माध्यमबाट भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई प्रभावित गर्न प्रयत्न गर्ने नै भए, भ्रष्ट जेल जानै पर्छ भन्ने मानसिकता बोकेकाले पनि बुझेर वा नबुझी विभिन्न विचार प्रस्तुत गर्दा नकारात्मक प्रभाव पर्न जाने खतरा पनि देखिएको छ । त्यसैले सबै संवेदनशील हुनुपर्ने अवस्था अहिलेको हो ।
अहिलेको अवस्था भनेको भ्रष्टाचारका विरुद्ध कदम चालेका प्रधानमन्त्रीलाई अझ बढी सहयोग गर्नुपर्ने समय हो । कारबाहीको साँचो हातमा बोकेर बसेका गृहमन्त्रीको हौसला बढाउँदै निर्दोष नपरोस् र दोषी नउम्कियोस् भन्ने सुझावका साथ अझ बढी प्रेरित गर्ने समय हो यो । अनुसन्धानमा खटिएका प्रहरीलाई विभिन्न खाले धम्की आउने सम्भावनालाई नकार्न सकिँदैन । ती प्रहरीको पछाडि आमजनता उभिएका छन् भन्ने अनुभूति दिलाउनुपर्ने दायित्व आमनागरिकको हो । मैले समर्थन गरेको पार्टीको नेता मुछिने भयो भनेर गलत कदम समाजका सदस्यले चाले भने आफ्नो खुट्टामा आफैँले बञ्चरो हाने सिवाय केही हुँदैन ।
लेखक सहप्राध्यापक हुनुहुन्छ ।