• १२ मंसिर २०८१, बुधबार

व्यावहारिक र सिपमूलक शिक्षा

blog

मुलुकमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालय भर्ना अभियानदेखि पठनपाठनका नयाँ नयाँ पद्धति घोषणा भएको छ । हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय शिक्षाको विकासका लागि जनाइने प्रतिबद्धता र प्रचारका लागि सार्वजनिक गरिएका योजना कहीँ कतै कार्यान्वयनमा आएका हुँदैनन् । सामुदायिक विद्यालयमा सरकारी लक्ष्य अनुरूप विद्यार्थी टिकाउने र बढी भर्ना गर्नुपर्ने बाध्यता, निजी विद्यालयलाई पनि बढीभन्दा बढी विद्यार्थी आकर्षित गरी बढी कमाउने आकाङ्क्षा हुन्छ । 

यी दुवै शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइका लागि बाधक पक्ष हुन् । नेपालमा शिक्षाको अर्थ, परिभाषा र सान्दर्भिकता केही दशकयता बदलिएको छ । शिक्षा पाउनु भनेको विद्यालय–कलेज उत्तीर्ण गर्नु र विदेश जानु जस्तो देखिएको छ । वर्षको आधा लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश जानु यसैको सङ्केत हो । नेपालको शिक्षा पद्धतिमाथि अनेक किसिमका प्रश्न उठेका छन् । निजी हुन् वा सामुदायिक विद्यालय तहको शिक्षालाई गम्भीर रूपमा समीक्षा गरेर समयोचित, व्यावहारिक र सिपमूलक बनाउन सकिएन भने हाम्रो देशको शैक्षिक जनशक्ति गरिखान सक्ने बन्दैन । यसका लागि किताबी अध्यापनसँगै व्यावहारिक र सिपमूलक तालिम दिनै पर्छ । 

सिपमूलक तालिम र अभ्यासमा माध्यमिक तहका विद्यार्थीलाई समावेश गर्न सके एकातिर देशको युवाशक्तिलाई विदेश पलायन हुनबाट बचाउन सकिन्छ भने अर्कातिर स्वदेशमै उनीहरूले केही गरिखाने क्षमताको विकास हुने छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास जाग्ने छ । यसबाट मुलुकको अर्थतन्त्र सबल बन्न सघाउ पनि पुग्छ । अहिले विदेशमा अध्ययन गर्न जाने नेपालीले मात्रै पचासौँ अर्ब रुपियाँ लग्ने गरेका छन् । यसको एउटै कारण मुलुकको शिक्षाको गणस्तरमाथिको प्रश्न, सिप तथा क्षमताको अभाव अनि व्यावहारिकतालाई बेवास्ता गरिनु हो । 

हामीले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक र सिपमूलक शिक्षालाई प्राथमिकता दिने हो भने यो देशका युवालाई स्वदेशमै राख्न सक्ने छौँ । अहिले मुलुकमा सामान्य श्रमिकदेखि विज्ञहरूको ठूलो अभाव छ । ठुला विकास आयोजनामा दक्षदेखि ज्यामीसम्म विदेशी आउने गरेका छन् । नेपाली युवा काम नपाएर दैनिक दुई हजारभन्दा बढी विदेशिने तर स्वदेशका परियोजनालाई जनशक्ति नहुने । यो विरोधाभाषी पक्षको अन्त्यका लागि सिप अत्यावश्यक छ । यसका लागि सरकारले विशेष गुरुयोजना बनाएर देशभर सामुदायिक तथा निजी विद्याललयमा कडाइका साथ लागु गराउनु पर्छ ।

शिक्षाको विविधता भनेको ज्ञान, बौद्धिक क्षमताको विकास र दक्षता पनि हो । अक्षर चिनेर अङ्ग्रेजी भाषामा कुरा गर्न जान्दैमा कोही पनि शिक्षित मानिँदैन । पढेका कुरा व्यवहारमा उतार्न सक्ने क्षमताको विकास विद्यालयबाटै हुनु पर्छ । काठमाडौँ महानगरपालिकाले यसै शैक्षिक सत्रदेखि महानगरभित्रका विद्यालयमा माध्यमिक तहका विद्यार्थीलाई अनिवार्य सिपमूलक तालिम दिने कार्यव्रmम सुरुवात गरेको छ । यो अत्यन्त सराहनीय कार्य हो । यसलाई सामुदायिक विद्यालयमा मात्र सीमित नगरी निजी विद्यालयमा पनि लागु गराउनु पर्छ । 

यस्तो योजना काठमाडौँ महानगरले मात्र होइन, यसलाई सङ्घीय सरकारले पनि आफ्नो नीति तथा कार्यव्रmम र बजेटमा समावेश गरेर देशव्यापी लागु गराउनु पर्छ । यति गर्न सकियो भने देशबाट युवा तथा बौद्धिक पलायनको व्रmम रोकिने छ । शिक्षा हरेक मानिसको नैसर्गिक अधिकार हो र त्यस्तो अधिकारको प्रत्याभूति गर्ने देशले उन्नतिको शिखर चुमेका छन् । देशलाई आवश्यक पर्ने हरेक किसिमका जनशक्ति, विशेषज्ञ सोही अनुसारको शिक्षाबाट मात्रै सम्भव हुन्छ र शिक्षासँगै दिइने सिपमूलक र किताबमा लेखिएका सन्दर्भको व्यावहारिक अभ्यास, अवलोकन र बहसले विद्यार्थीलाई वास्तविकता बुझ्न सघाउ पुग्छ । यसका लागि पाठ्यपुस्तकसँगै व्यावहारिक र सिपमूलक तालिम अनिवार्य हुन्छ ।

उच्च शिक्षाको प्रमाणपत्र बोकेको तर हातमा केही सिप छैन भने त्यस्तो व्यक्तिले आफूलाई समेत निर्वाहमुखी बनाउन सक्दैन तर हाम्रो विडम्बना के छ भने पढाइ वा शिक्षा भनेको परीक्षामा कति अङ्क ल्यायो, पहिलो भयो, दोस्रो भयो भन्ने कुरामै सीमित रहेको छ । कसले कस्तो सिप जानेको छ भन्नेतिर कसैको पनि ध्यान जाँदैन । हो, उच्च अङ्कका साथ उत्तीर्ण हुनु महìवपूर्ण हुन्छ तर सँगसँगै सिप भयो भने त्यो सुनमा सुगन्ध हुन्छ । र, प्रमाणपत्रभन्दा सिप नै अन्ततोगत्वा जीवनयापनको माध्यम बन्दछ । पश्चिमा मुलुकमा पढाइसँगै सिप र श्रमलाई उच्च प्राथमिकता दिन्छन् । त्यसैले ती मुलुक विकसित भएका छन् ।

हाम्रो शिक्षा पद्धति सैद्धान्तिक र व्यावहारिक दुवैमा केन्द्रित थियो । गुरुकुलीय शिक्षा पद्धतिमा ती सबै अभ्यास गराइन्थ्यो, जुन हरेक मानिसको जीवनमा आवश्यक पर्दछ तर आधुनिक शिक्षा प्रणालीले अङ्ग्रेजी बोल्नु नै सबभन्दा ठूलो मान्यो, शिक्षालाई व्यापार–व्यवसाय गर्ने थलोमा परिणत गरियो र अन्ततः सरकारी लगानीका विद्यालय धराशायी बनाइयो । यसको लाभ निजी क्षेत्रले उठायो । एसइई परीक्षामा आएको नतिजाकै आधारमा गुणस्तरीय शिक्षा प्रदान गरेको डङ्का पिट्यो तर एसइईमा उच्च ग्रेडमा उत्तीर्ण भएकाहरू अहिले मुलुकमा छन् कि विदेशमा छन् ? विदेशमै छन् भने उनीहरूको उच्च अङ्कको के लाभ लियो मुलुकले ? यस्ता प्रश्नको उत्तर खोजेर नीति निर्माण अबको आवश्यकता हो ।

शिक्षा व्यापारको क्षेत्र नभएर सेवामूलक व्यवसाय हो । शिक्षण पेसामा लागेकालाई त्यसैले उच्च सम्मान दिने संस्कृति बसालियो । मातापितापछि अत्यधिक सम्मान गर्ने गुरुलाई हो । आजभोलि गुरुमा पनि त्यो उच्च नैतिकता, प्रतिष्ठा छैन भने विद्यार्थीमा पनि सिक्ने जाँगर छैन । हरेक कुरा सजिलै हातहातमा उपलब्ध हुनु पर्छ, ज्ञान आर्जन होइन प्रमाणपत्र मात्र चाहिन्छ । यसले हाम्रा बालबालिकाको भविष्य कसै गरी पनि बन्दैन । उनीहरू पढेलेखेका तर केही गर्न नजानेका अयोग्य मात्र ठहरिने छन् ।

यस्तो अवस्थाको अन्त्यका लागि विद्यालयमा प्राविधिक र सिपमूलक शिक्षा आवश्यक पर्दछ । शिक्षा भनेको सिक्नु हो भन्ने बुझेर सोही अनुसारको अभ्यास र तालिम गराउनु पर्दछ । कम्तीमा पनि भविष्यमा आफैँ केही गर्न सक्ने बनाउनका लागि विद्यालयले सिपमूलक तालिम दिनै पर्दछ । यही मान्यता र समयको आवश्यकता बुझेर काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुव्रmबार’ अभियान चलाएर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सिपमूलक तालिम दिन सुरु गरेको हो । स्थानीय तहले गरेका राम्रा निर्णय र अघि सारेको योजनालाई केन्द्रीय नीति तथा कार्यव्रmममै राख्ने हो भने आधा दशकमै नेपालको शिक्षा पद्धतिमा आमूल परिवर्तन आउने छ ।

सामुदायिक हुन् कि निजी; हरेक विद्यालयको सफलताको मापन त्यहाँबाट निस्किएका विद्यार्थीले के सिके, जाने र बुझे भन्ने हुन्छ । अक्षर चिनेका तर केही काम गर्न नजानेका, प्रमाणपत्रमा राम्रो अङ्क लेखिएका तर सिप केही नभएका विद्यार्थी उत्पादन गरेर न विद्यालय सफल भएको ठहरिन्छ न त राष्ट्रले नै ती विद्यार्थीबाट केही पाउन सक्छ । विद्यालय पढेलेखेका अयोग्यको भिड जम्मा गर्ने र विदेशीका लागि श्रमशक्ति तयार गर्ने कारखाना होइन, देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादनको पाठशाला हुनु पर्दछ । शिक्षालाई व्यापारीकरणबाट मुक्त गरेर समाजसेवामा परिणत गर्नु पर्दछ । विद्यार्थीलाई भविष्यमा केही न केही गर्न सक्ने सिपवान् बनाउनु पर्दछ ।

विद्यालय शिक्षामा सैद्धान्तिक पाठसँगै व्यावहारिक सिकाइ महìवपूर्ण पक्ष हो । हरेक विद्यालयले विद्यार्थीको रुचि र क्षमता अनुसारको सिपमूलक तालिमलाई आफ्नो शैक्षिक पात्रोमै समावेश गर्ने र त्यस्तो तालिमको व्यवस्था गर्ने हो भने नेपालको विद्यालय शिक्षाले छोटै समयमा फड्को मार्ने छ । त्यस्तै अहिलेजस्तो हरेक वर्ष भर्ना अभियान चलाएर विद्यार्थी आकर्षित गर्नु पनि पर्दैन । अहिलेको समस्या के हो भने आज १० लाख विद्यार्थी भर्ना भए, अभियान सफल भयो भनिन्छ तर त्यसको १० वर्षपछि एसइई परीक्षा दिने पाँच लाख मात्रै हुन्छन् । बाँकी पाँच लाख विद्यार्थी किन विद्यालयमा टिकाउन सकिएन ? यो प्रश्नको उत्तर सिपमूलक तालिमसहितको शिक्षा नभएर हो भन्न कुनै अप्ठ्यारो मान्नु पर्दैन । 

यदि विद्यालयमा सिपमूलक तालिमसहितको पठनपाठन हुने हो भने यसको नतिजा विदेशमा श्रम गर्न जानुपर्ने बाध्यता पनि हट्छ, आफ्नै सिपमा केही न केही रोजगारी सिर्जना गर्न सक्षम हुने छन् । यसले शिक्षा, विद्या, रोजगारी सबै एकसाथ प्रदान गर्ने छ । यसलाई महाअभियानका रूपमा देशभर लागु गर्नु पर्दछ । अनि मात्र नेपालले पढेलेखेका जनशक्ति प्राप्त गर्ने छ । सिपमूलक पठनपाठनले देशभित्रै रोजगारी सिर्जना गरी आर्थिक–सामाजिक विकासमा ठुलो फड्को मार्ने छ । शिक्षा भनेको विदेश पलायन हुने लाइसेन्स होइन, स्वदेश बनाउने जिम्मेवारी हो भन्ने बुझ्न र बुझाउन सकिने छ । समयको माग र आवश्यकता यही हो । यस विषयमा तीनवटै तहको सरकार अनि सामुदायिक र निजी दुवैथरिका विद्यालयका सञ्चालकले गम्भीर भएर सोच्नु आवश्यक छ । 

लेखक शिक्षण सेवामा आबद्ध हुनुहुन्छ ।

  

Author

गीता श्रेष्ठ