• ६ जेठ २०८१, आइतबार

फ्रेन्ड्समाथि जावलाखेलको फराकिलो जित

blog

गोल गरेपछि खुशी मनाउँदै जावलाखेलका खेलाडी । तस्बिरहरु : केशव गुरुङ

काठमाडौं, वैशाख २८ गते । जावलाखेल यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलले हरायो ।

जितसँगै जावलाखेल लिगको शीर्षस्थानमा उक्लिएको छ । जावलाखेलको जितमा एनकोटो मासोआबीले दुई गोल गर्नुभयो । राहुल राहुल र फोडे फोफानाले एक एक गोल थप्नुभयो । फ्रेन्ड्सका लागि श्यामबाबु क्यापछाकीले सान्त्वना गोल फर्काउनुभयो ।



जावलाखेलले २०औँ मिनेटमा राहुलको गोलमा खाता खोलेको थियो । २६औँ मिनेटमा एनकोटो मासोआबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाउनुभयो । ६४अ‍ौँ मिनेटमा मासोआबीले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको अग्रता थप बलियो बनाउनुभयो ।

८०अ‍ौँ मिनेटमा श्याम बाबु क्यापछाकीले फ्रेन्ड्सका लागि सान्त्वना गोल फर्काउनुभयो । त्यसपछि इन्जुरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई सजिलै जिताउनुभयो ।

जितसँगै शीर्षस्थान कब्जा गरेको जावलाखेलले १७ खेलबाट ३० अंक बनाएको छ । समान खेलबाट १९ अंक बनाएको फ्रेन्ड्स ११अ‍ौं स्थानमा छ ।