काठमाडौं, वैशाख २८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताउनुभएको छ ।
उहाँले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो । दोलखा काठमाडौं सम्पर्क मञ्चले आज (बिहीबार) नेकपा एसको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको स्व पशुपति चौलागाईंको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभई सिङ्गो दोलखामा उहाँको भूमिका र योगदान उच्च रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो दिलु पन्तले चौलागाईं सरल र सादगी नेता रहेको बताउनुभयो । उहाँले नक्कली शरणार्थी अनुसन्धानमा सत्यतथ्य सार्वजनिक गर्न सहयोग गर्ने उद्देश्यले आफ्नो पार्टीले आज देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
पोलिटब्यूरो सदस्य शिव भण्डारी, पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताले चौलागाइँ सामाजिक विकास तथा आर्थिक व्यवस्थापनमा पारदर्शी रहेको आदर्श नेताका रूपमा नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताउनुभयो ।
दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीले मुलुकको राजनीतिक विकास क्रममा चौलागाईंको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।
दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन हुनुभएका चौलागाईं तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो भने दुई कार्यकाल दोलखाको सभासद् हुनुभएको थियो । रासस