गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका मुद्दामा छानबिन र अनुसन्धान हुनु उचित भएको बताउनुभएको छ । त्यसमा पार्टीको तर्फबाट सबै सहयोग हुने उहाँको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा उहाँले सो आरोप लगाउनुभएको हो ।
क्यान्टनमेण्ट काण्डबारे पनि अख्तियारले अनुसन्धान गर्न खुट्टा कमाउनु हुँदैन उहाँले भन्नुभयो । अर्थतन्त्र सङ्कटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम पनि भ्रष्टाचार भएको उहाँले टिप्पणी गर्नुभयो । नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रूपमा निर्णय गरेर बहिर्गमन लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘सरकार दुई लाखका दरले रुपियाँ बाँड्ने भनेको छ, अर्थतन्त्र बेहाल छ । कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा देशको अर्थतन्त्र छ, यसको सुधारमा सरकारको ध्यान जान सकेको छैन ।” क्यान्टनमेण्टमा नभएका मानिसको नाममा पनि विगतमा पैसा बुझिएको उहाँले दाबी गर्नुभयो । “राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने काम भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसबारेमा कोही पनि बोल्न तयार छैनन्” उहाँले भन्नुभयो, “राज्यको ढुकुटी अनुचित ढङ्गले रित्याउन पाइँदैन, जुनसुकै हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस् ।”
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो । भ्रष्टाचार काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ ।’
अध्यक्ष ओलीले भ्रष्टाचारविरुद्धमा बोल्नेहरूको मुख थुन्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले संसद्मा केही दिनअघि मात्रै स्वतन्त्र सांसद अमरेशकुमार सिंह बोल्न लाग्दा मुख थुन्ने काम भएको उहाँको भनाइ छ । त्यही दिन अख्तियारमा उजुरी पर्नु शङ्काको विषय रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारविरुद्धमा बोल्ने विपक्षीहरूलाई धम्की दिने काम भइरहेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्ने बारेमा स्पष्ट हुन नसकेको बताउनुभयो ।