• २४ वैशाख २०८१, सोमबार

अनुसन्धानमा कृत्रिम बौद्धिकता

blog

अनुसन्धान अध्ययनमा एआईको प्रयोग भविष्यमा निकै बढ्ने सम्भावना छ । जसले अनुसन्धानलाई छिटो, दुरुस्त र समयलाई घटाउन मद्दत गर्छ । एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावना भने कायमै हुन्छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता, मेसिन र मानिसमा रहेको बौद्धिकताको अनुकरण हो, जुन मानिसले जस्तै सोच्न, सिक्न, चित्र कोर्न, सङ्गीत भर्न, स्वर प्रदान गर्न, दृष्टिकोण निर्माण र उचित व्यवहार गर्नका लागि कम्प्युटरमा प्रोग्राम गरिएको हुन्छ । पछिल्ला वर्षमा धेरै अनुसन्धान अध्ययन कार्यमा एआईको प्रयोग बढ्दो र लोकप्रिय पनि भएको छ किनकि यसले ठुलो मात्रामा डाटा विश्लेषण गर्न सक्ने र अन्तर्दृष्टि प्रदान गर्ने क्षमता राख्छ । जुन परम्परागत अनुसन्धान विधिहरूको प्रयोगबाट आजको दिनमा सम्भव नहुन सक्छ । 

एआई प्रयोग गर्नुका फाइदा

एआईले बिरामीको डाटा विश्लेषण गरी र व्यक्तिगत उपचार योजना विकास गर्न पनि मद्दत गर्न सक्छ । यसले अध्ययनमा प्रयोग गरिएका डाटाको ढाँचा र प्रवृत्ति पहिचान गर्न मद्दत गर्छ । अनुसन्धान अध्ययनमा एआईको प्रयोग गर्नाले हुने मुख्य फाइदा भनेको धेरै डाटा छिटो र सही रूपमा एआईको सबल पक्ष भनेकै विश्लेषण गर्ने क्षमता नै हो । परम्परागत अनुसन्धान विधिको प्रयोगबाट डाटा विश्लेषण कार्य गर्न महिनौँ वा बर्सौँ लाग्ने हुन्थ्यो तर एआईको प्रयोगले अहिले छिटो र दुरुस्त रूपमा सम्पन्न हुन्छ । 

अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्नुको अर्को सफल पक्ष भनेको अनुसन्धानलाई निजीकृत र विशिष्टीकृत गर्ने क्षमता हो । एआईले प्रत्येक व्यक्तिबाट प्राप्त डाटा विश्लेषण गर्न सक्छ र उनीहरूको अलग विशेषताका आधारमा सिफारिस लिन सक्छ । यो विशेष गरी स्वास्थ्य सेवा अनुसन्धानका लागि बढी नै उपयोगी भएको विभिन्न अध्ययनले देखाएको छ । एआईले स्वास्थ्य अनुसन्धान अध्ययनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले स्वास्थ्य नतिजाहरूको निदान र भविष्यवाणी गर्ने, बिरामी डाटा को विश्लेषण गर्ने, र व्यक्तिगत उपचार योजना तय गर्नेजस्ता कार्य गर्न सक्छ । 

एआईले व्यक्तिगत उपचार योजना, व्यक्तिको वंशाणुगत गुण, जीवनशैली र चिकित्सा इतिहासको आधारमा तयार गर्न वा भनौँ विकास गर्न सक्छ । जसले गर्दा चिकित्सकलाई बिरामीको थप उपचार प्रक्रिया अगाडि बढाउन सहज हुन्छ । यद्यपि, प्यु रिसर्च सेन्टरले गरेको सर्वेक्षणले के पत्ता लगाएको छ भने अधिकांश अमेरिकीले निदान र उपचार सिफारिसका लागि एआईमा भर परेका स्वास्थ्य सेवा प्रदायकले असहज महसुस गर्ने गरेका छन् ।

अनुसन्धान अध्ययनमा एआई प्रयोग गरिएका धेरै उदाहरण छन् । जस्तै: स्वास्थ्य विज्ञानतर्फ चिकित्सा तस्बिर वा चित्र विश्लेषण गर्न एआईको प्रयोग गरिएको छ । अनुसन्धानकर्ताले क्यान्सरजस्ता रोगको प्रारम्भिक लक्षण पहिचान गर्न, चिकित्सा तस्बिरको विश्लेषण गर्न एआई प्रयोग गरिरहेका छन् । एआईले मानिसको तुलनामा धेरै छिटो र दुरुस्त तरिकाले तस्बिरको विश्लेषण गर्न सक्ने क्षमता राख्छ । जसले गर्दा छिटो रोग पत्ता लगाउन र उपचार गर्न सहज हुन्छ । डाटा सङ्कलनमा च्याटबोटको प्रयोगलाई अनुसन्धान अध्ययनमा एआईको प्रयोगका रूपमा लिन सकिन्छ । अनुसन्धानकर्ताले ठिक समयमा सहभागीबाट डाटा सङ्कलन गर्न च्याटबोट प्रयोग गरिरहेका छन् । एक अध्ययनका अनुसार च्याटबोट मानसिक स्वास्थ्य अवस्था बिग्रेका व्यक्तिको डाटा सङ्कलन गर्न प्रयोग गरिएको थियो, जहाँ सहभागीले नियमित रूपमा आफ्नो जानकारी वा रिपोर्ट प्राप्त गर्न सफल भए । जसले गर्दा चिकित्सकलाई थप उपचार प्रदान गर्न मद्दत मिलेको थियो । 

अनुसन्धान अध्ययनमा मेसिन लर्निङको भूमिका

मेसिन लर्निङ एक प्रकारको एआई हो, जसले कम्प्युटरलाई स्पष्ट रूपमा प्रोग्राम नगरी डाटाबाट सिक्न अनुमति दिन्छ । मेसिन लर्निङ एल्गोरिदमले डाटा का ढाँचा र प्रवृत्ति पहिचान गर्न सक्नुका साथै कुनै कुराको भविष्यवाणी गर्न वा कुनै विषयमा निर्णय लिन सक्छ । अहिलेसम्म अनुसन्धान अध्ययनमा, मेसिन लर्निङको प्रयोग ठुलो सङ्ख्याका डाटा विश्लेषण गर्न, ढाँचा र प्रवृत्ति पहिचान गर्न प्रयोग गर्न भएका छन् । जुन परम्परागत अनुसन्धान विधिबाट गर्न सम्भव नै छैन । पूर्वानुमानित एनालिटिक्सले डाटा विश्लेषण गर्न र भविष्यको परिणामको बारेमा भविष्यवाणी गर्न मेसिन लर्निङ एल्गोरिदम प्रयोग गर्दछ । अनुसन्धान अध्ययनमा मेसिन लर्निङको एक उदाहरण भविष्यवाणी विश्लेषणलाई लिन सकिन्छ ।

अनुसन्धान अध्ययनमा प्राकृतिक भाषा प्रक्रियाको भूमिका 

नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स नै हो, जसले कम्प्युटरलाई मानव भाषा बुझ्न र व्याख्या गर्न अनुमति प्रदान गर्छ । अनुसन्धान अध्ययनमा, एनएलपीको प्रयोगले सामाजिक सञ्जाल वा अनलाइन फोरमजस्ता स्रोतबाट डाटा विश्लेषण गरी प्रयोग गर्न सजिलो बनाइदिन्छ । एनएलपी एल्गोरिदमले भाषा प्रयोगमा विभिन्न ढाँचा र प्रवृत्ति चिन्न मद्दत गर्छ र मानसिक स्वास्थ्य, सामाजिक प्रवृत्ति र उपभोक्ता व्यवहारजस्ता विषयमा जानकारी प्राप्त गर्न सहज बनाउँछ । यो विशेष गरी बजारीकरणसम्बन्धी अनुसन्धानमा उपयोगी हुन्छ, जहाँ शोधकर्ताले उत्पादन वा ब्रान्डप्रति उपभोक्ता भावनाको विश्लेषण गर्न सक्छन् र सोही अनुसार बजारीकरणका लागि योजना बनाउँछन् । एनएलपी विषय मोडलिङका लागि पनि प्रयोग गरिन्छ, जसमा अनुसन्धानकर्ताले एक विशेष मुद्दाको वरिपरि केन्द्रित रहेर विश्लेषण गर्न सक्छन् ।

डाटा विश्लेषणमा एआईको प्रयोग

डाटा विश्लेषणमा एआईको प्रयोगले अनुसन्धानकर्तालाई निकै सहज, सरल र किफायती बनाइदिनुका साथै समय र पैसा पनि बचाइदिएको छ । यसले डाटामा प्रयोग भएका ढाँचा र प्रवृत्ति चिन्न मद्दत गर्ने हुनाले परम्परागत अनुसन्धान विधिभन्दा यो छिटो र चुस्त दुरुस्त छ । एआई एल्गोरिदमले मानिसले भन्दा धेरै छिटो र धरै चुस्त रूपमा डाटा विश्लेषण गर्न सक्छ । जसले गर्दा एआईले भविष्यमा अनुसन्धान अध्ययनको नेतृत्व लिन सक्ने हुन्छ तथापि यसका केही नैतिक र सामाजिक सीमा भने अवश्य पनि छन् ।

अनुसन्धान अध्ययनमा एआई प्रयोगले केही नैतिक र सामाजिक प्रश्न खडा गरेको छ । एआईले पूर्वाग्रहलाई कायम राख्न सक्ने सम्भावना छ र त्यत्तिकै सम्भावना गोपनीयताको अधिकार भङ्ग गरिदिने साथै कतिपय सन्दर्भमा राज्यका संवेदनशील सूचना पनि चुहावट गर्न सक्छ । एआई एल्गोरिदमलाई प्रशिक्षित गर्दा वा निर्देशन गर्दा प्रयोग गरिएको डाटा वा तर्क यदि पक्षपातपूर्ण छन् भने, एआई पनि पक्षपाती हुने निश्चित हुन्छ । यसले गलत नतिजा दिन सक्छ, र अनुसन्धान अध्ययनलाई नै गलत दिशा निर्देश गर्न सक्ने सम्भावना हुन्छ । साथै यसले दिने परिणाम भयावह हुन सक्छ र भेदभावलाई कायम राख्न सक्छ । एआई एल्गोरिदमहरू व्यक्तिगत डाटा सङ्कलन गर्न प्रयोग गरियो भने त्यहाँ अवश्य पनि जोखिम हुने हुन्छ किनकि यी डाटा अनपेक्षित उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्न सकिने वा भनौँ सरोकारवालाको सहमतिबिना नै तेस्रो पक्षसँग साझेदारी वा डाटाको दुरुपयोग गर्न सक्ने सम्भावना रहन्छ ।

अनुसन्धान अध्ययनमा एआईको भविष्य 

अनुसन्धान अध्ययनमा एआईको प्रयोग भविष्यमा निकै बढ्ने सम्भावना छ । जसले अनुसन्धानलाई छिटो, दुरुस्त र समयलाई घटाउन मद्दत गर्छ । एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावना भने कायमै हुन्छ । अनुसन्धानकर्ताले अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्दा यी चासो र चिन्तालाई ध्यानमा राख्नु महत्वपूर्ण छ । अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्न चाहने अनुसन्धानकर्ताका लागि धेरै उपकरण र सफ्टवेयर उपलब्ध छन्, अहिले । जसले ती उपकरण प्रयोग गरी डाटा 

सङ्ग्रह, डाटा विश्लेषण, र डाटा दृश्यावलोकनजस्ता कार्यहरू सम्पादन मद्दत गर्छ । अनुसन्धान अध्ययनमा एआईका लागि प्रयोग गरिने केही लोकप्रिय उपकरण र सफ्टवेयर पाइथन, आर, टेन्सनफ्लो र केरास आदि हुन् ।

निष्कर्ष 

अनुसन्धान अध्ययनमा एआईको प्रयोगले अनुसन्धान गर्ने तरिकामा नयाँ क्रान्ति ल्याउने क्षमता राख्छ, अहिले । एआईको प्रयोगले अनुसन्धानकर्तालाई ठूलो मात्रामा डाटा छिटो र सही रूपमा विश्लेषण गरी नतिजा दिन मद्दत गरेको छ । यसले अध्ययन अनुसन्धानात्मक कार्यलाई मार्गनिर्देश प्रदान गर्छ, जुन परम्परागत अनुसन्धान विधिको प्रयोगबाट प्राप्त गर्न असम्भवजस्तै हुन्छ । यद्यपि, एआईले पूर्वाग्रह राख्ने र गोपनीयताको अधिकार उल्लङ्घन गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

एआईले मानिसले जस्तै सोच्ने, लेख्ने, सल्लाह दिने, चित्र बनाउने, सङ्गीत भर्ने, आवाज दिने हुनाले यसका बारेमा नैतिक र सामाजिक प्रश्न उठेका छन् । अतः अनुसन्धानकर्ताले अनुसन्धान अध्ययनमा एआई प्रयोग गर्दा यी विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । उनीहरूले अनुसन्धानका सही उपकरण र सफ्टवेयरको प्रयोग गर्दा, एआई पनि विभिन्न विषयमा नयाँ अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताका लागि एक शक्तिशाली सहयोगी उपकरण साबित हुन सक्छ । यसले पैदा गरेका नैतिक र सामाजिक मुद्दाका विषयमा भने अनुसन्धानकर्ताका बिच बहस जारी राख्नुका साथै नयाँ चुनौती थप्ने निश्चित छ । अहिले एआईको प्रयोगको विषयलाई लिएर अमेरिकालगायत अन्य मुलुकमा जुनखालको विवाद सुरु भएको छ । यसले विश्वमा एआईको प्रयोगको विषयलाई बहस सिर्जना गरेको छ ।

लेखक ई–गभर्नेन्स र सूचना प्रविधि विज्ञ हुनुहुन्छ ।