• ११ मंसिर २०८१, मङ्गलबार

पूर्वगृहमन्त्री खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिँदै

blog

काठमाडौं, वैशाख २८ गते । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरेको छ । खाणलाई प्रहरीले बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित उहाँकै निवासबाट पक्राउ गरेको हो । 

त्यसअघि खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि जडीबुटीस्थित निवासबाटै पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले पूर्वगृहमन्त्री खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई बुधबार नियन्त्रणमा लिएको जानकारी दिनुभयो । प्रहरीले दुवै जनालाई अदालतमा उपस्थित गराई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

प्रहरी टोलीले आफूलाई पक्राउ गर्न आएको सुइँको पाएपछि घरभित्र ढोका थुनेर बसेका खाणलाई पक्राउ गर्ने क्रममा प्रहरीले ढोका फोडेर उहाँको कोठामा प्रवेश गर्नुपरेको थियो । भाग्न सक्ने र गोप्य सूचना बाहिरिन सक्ने भएकाले खाणलाई पक्राउ गर्न प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी लिन अस्वीकार गरेका खाणलाई प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याएको थियो । परिसरमा समेत खाणले अदालतमा उपस्थित हुन इन्कार गर्नुभएको थियो । लामो वादविवादपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । 

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपियाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन् ।

खाण पक्राउपछि उहाँकी पत्नी प्रतिनिधि सभा सदस्य मञ्जु खाण सम्पर्कविहीन हुनुभएको छ । प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर छ करोड रुपियाँ पत्नी मञ्जुलाई बुझाएको बताएका छन् । चितवनको भरतपुर महानगरपालिका–१९, शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र केसी तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव हुनुहुन्थ्यो । केसीले पक्राउ परेका अभियुक्तसँग रकम लिएको पाइएको प्रहरीले जनाएको छ । 

प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ । सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ । तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा रायमाझीका छोरा सन्दीपलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उच्च अधिकारीसहित १२ जना पक्राउ 

खाण र केसी पक्राउ परेसँगै यस प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वगृहसचिवसहित हालसम्म १२ जना प्रहरी नियन्त्रणमा छन् । यस प्रकरणमा बिचौलिया भनिएका काठमाडौँका रामशरण केसी र सुनसरीका गोविन्द चौधरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पक्राउ गरेको थियो । 

Author

मित्र भण्डारी