• १३ असोज २०८१, आइतबार

नेपाललाई अन्तर्राष्ट्रिय खेलको हबको रूपमा विकास गरियोस् : सांसद देवकोटा

blog

राष्ट्रिय सभा सांसद खिमलाल देवकोटा ।

काठमाडौं, वैशाख २६ गते । राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद देवकोटाले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद देवकोटाले खेलाडीहरूको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले राष्ट्रका लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह गर्नुभयो ।

‘‘अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । नेपालको इज्जत र सम्मानलाई सगरमाथाभन्दा पनि माथि लगेको छ । त्यो उचाइमा नेपालको सम्मान पुर्‍याउने खेलाडीलाई सरकारले झारो टार्नुभन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रका लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस्, अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा विशेष ध्यान दिइयोस् ।,’’ सांसद देवकोटाले भन्नुभयो, ‘‘भारत र पाकिस्तान लगायतका देशहरू बीचको टकराबको फाइदा नेपालले लिनसक्ने गरी खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरूको हबको रूपमा नेपाललाई अघि बढाइयोस् । भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिबद्धताकासाथ सरकार अघि बढोस् ।’’

सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरूको हबको रूपमा नेपाललाई स्थापित गर्न आग्रह गर्नुभयो ।