• १२ साउन २०८१, शनिबार

कानुन व्यवसायीदेखि प्रधानन्यायाधीशसम्म

blog

काठमाडौं, वैशाख २६ गते । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । पाँच महिनादेखि पद रिक्त पदमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरेको हो । 

२०१५ साल साउन २० गते ओखलढुङ्गामा जन्मनुभएका कार्की कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त हुनुभएको थियो । महान्यायाधिवक्ताबाट राजीनामा दिएर कार्की न्यायाधीश नियुक्त हुनुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उहाँ महान्यायाधिवक्ता हुनुहुन्थ्यो । 

उहाँ २०७२ असोज २८ देखि फागुन १८ गतेसम्म महान्यायाधिवक्ता बन्नुभएको थियो । महान्यायाधिवक्ता हुनुअघि उहाँले नेपाल बार एसोसिएसनको नेतृत्व गर्नुभएको थियो । नेपाल बार एसोसिएसनको कार्यकाल पूरा नगरी कार्की महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । कार्कीले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ गतेयता प्रधानन्यायाधीश पद रिक्त थियो । नियुक्ति विवादमा राजनीतिक सहमति भएसँगै कार्कीलाई सर्वसम्मत रूपमा सिफारिस गरिएको हो । उमेर हदका कारण २०८० साउन १९ गतेसम्म उहाँको कार्यकाल रहने छ ।