• ११ मंसिर २०८१, मङ्गलबार
blog

गोरखापत्र राष्ट्रिय दैनिकले आज प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१औँ वार्षिकोत्सवको सुखद अवसरमा गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी तथा सबै कर्मचारीलाई बधाई ज्ञापन गर्दछु ।

नेपालको पहिलो प्रकाशनका रूपमा वि.सं. १९५८ सालको वैशाख २४ गतेबाट ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको हो । वि.सं. १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको वि.सं. २००० असोज २९ गते सातामा मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुँदै २००३ साल पुस ८ गतेदेखि सातामा तीन पटक प्रकाशित भएको थियो । वि.सं २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित भएको थियो । यस महत्वपूर्ण दिनमा गोरखापत्रका संस्थापक एवं संस्थान र पत्रिकाको निरन्तर विकासका निम्ति अहोरात्र खट्नुहुने सबैप्रति स्मरण गर्दै आभार प्रकट गर्दछु ।

१९५८ वैशाख २४ देखि निरन्तर प्रकाशित गोरखापत्र नेपाली पत्रकारिताको ऐतिहासिक संस्था हो । नेपाली पत्रकारिताको संस्थागत विकासमा यसको महìवपूर्ण योगदान छ । राष्ट्रको इतिहास र सभ्यता जोडिएको यो संस्थालाई अहिलेको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनर्संरचना आवश्यक छ । पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनको लेआउट डिजाइनमा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय छ, आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ । 

नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्र एउटा पत्रिका मात्र होइन । एउटा युगको जीवन्त प्रतिनिधि हो । आजका मितिसम्म पनि सबैभन्दा विश्वासिलो र सर्वाधिक हेरिने वा पढिने पत्रिका गोरखापत्र हो । शताब्दी लामो यात्रा पार गरिसकेको गोरखापत्रको हाम्रो सामाजिक विकास र संस्कृति प्रवद्र्धनमा महìवपूर्ण योगदान छ । यो संस्थाले इतिहासका थुप्रै आरोहअवरोह पार गरेको छ ।

समयको माग र प्रविधिको गतिअनुसार अब यो संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी छ । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनुपर्छ । डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले गोरखापत्रले आफ्नो परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गरेर नयाँ 

ढङ्गले अघि बढ्नुपर्छ । राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै सबै नेपालीले स्वामित्व लिने सामग्री पस्किनुपर्छ । अब सूचनाका लागि मात्र पत्रिका कुर्ने अवस्था नरहेकाले सामग्रीको गुणस्तर र विविधतामा विशेष ध्यान दिनु जरुरी छ ।

राज्यका सबै कामकारबाही पारदर्शी हुनुपर्दछ । राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ । राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रूपमा सञ्चारमाध्यमले निर्वाह गर्ने भूमिका महìवपूर्ण हुनसक्छ । त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’ का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्न सक्नुपर्दछ । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्न सक्नुपर्दछ । आजको सन्दर्भमा आमसञ्चारको भूमिका र योगदान प्रशंसनीय छ ।

गोरखापत्र संस्थान र गोरखापत्रको नेतृत्व सुशासन र समृद्धिको लक्ष्यप्रति जवाफदेही र इमानदार रहेर मात्र आमसञ्चार जगत्मा सरकार र सरकारी सञ्चार माध्यमप्रतिको विश्वसनीयता कायम राख्न र अभिवृद्धि गर्न सकिन्छ । पछिल्लो समय संस्थानको नेतृत्वको इमानदारिता र कार्यक्षमतामाथि उठेका प्रश्नको व्यवहारद्वारा प्रतिउत्तर दिन पनि म विशेष रूपले ध्यानाकर्षण गराउँछु । संस्थाको नेतृत्वले जहिले पनि निष्पक्षता, स्वतन्त्रता, संस्थागत एवं पेसागत हित र सुरक्षा, संस्थाभित्र कार्यरत सदस्यहरूको वृत्तिविकास र अभिभावकत्वमा विशेष ध्यान दिनुपर्छ । संस्थाप्रति सबैको अपनत्वबोध हुने भौतिक एवं भावनात्मक परिस्थितिको निर्माण गरेर मात्र नेतृत्वले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ, जसको बलमा संस्थाले थप परिस्करणका साथ उचाइ हासिल गर्न सक्छ । यसतर्फ यहाँहरू सबैको ध्यान जाने नै छ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा, आजको ऐतिहासिक दिनले गोरखापत्रमा कार्यरत सबै सञ्चारकर्मी एवं कर्मचारीमा नयाँ ऊर्जा र आत्मविश्वासका साथ काम गर्ने प्रेरणा र वातावरण पैदा होस्, गोरखापत्रलाई प्रतिस्पर्धी र आधिकारिक सूचना सम्प्रेषणको निर्विकल्प सञ्चारमाध्यमका रूपमा विकास गर्न सफलता प्राप्त होस्, दैनिक घटनाक्रम मात्र नभएर नीतिगत र परिणाममुखी कामको विश्लेषण आमपाठकसम्म पु¥याउन थप रचनात्मक भूमिका निर्वाह गर्न सकोस् । यही अपेक्षा र विश्वासका साथ फेरि एक पटक गोरखापत्र संस्थान र गोरखापत्र दैनिकको निरन्तर प्रगतिको शुभेच्छासहित बिदा हुन्छु, धन्यवाद ।

(गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको सम्बोधनको पूर्ण पाठ)