• १४ वैशाख २०८१, शुक्रबार

बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण

blog

सिँवा बजारका पसल अनुगमन गर्दै फक्ताङ्लुङ गाउँपालिकाको टोली । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बजार अनुगमनसँगै व्यापारीलाई अभिमुखीकरण गराएको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवा बजारको अनुगमन गर्दै गाउँपालिकाले स्थानीय व्यापारीलाई अभिमुखीकरण गराएको हो । 
फक्ताङ्लुङ गाउँपालिकाकै मुख्य व्यापारिक केन्द्र लिङ्खिमको सिँवा बजारको अनुगमन गर्दै व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया लगायतका विषयमा गाउँपालिकाले व्यापारीलाई अभिमुखीकरण गराएको हो । पालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको नेतृत्वमा बजार अनुगमनसँगै अभिमुखीकरण सञ्चालन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेलगायतले व्यवसाय दर्ता, आवश्यक मापदण्ड लगायतका प्रक्रियाबारे स्थानीय व्यापारी तथा व्यवसायीलाई अभिमुखीकरण गराउनुभएको थियो । ग्रामीण क्षेत्रमा रहेको बजारमा ग्राहकलाई उपभोग्य वस्तु बिक्री गर्ने र नाफा कमाउने मात्र व्यवसायीको उद्देश्य रहेको बुझिएकाले सम्बन्धित व्यापारीलाई सहभागी गराई अभिमुखीकरण सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । 
स्थानीय व्यवसायीले पनि अभिमुखीकरणमा सहभागी हुन पाउँदा व्यापार व्यवस्थापन, प्रक्रिया, मापदण्ड र सामान खरिद बिक्रीका विषयमा थप जानकारी प्राप्त गर्ने अवसर मिलेको बताएका छन् । अभिमुखीकरणले आगामी दिनमा आफ्नो व्यापार व्यवसायलाई अझ व्यवस्थित बनाउनमा सहयोग पुग्ने अपेक्षा पनि व्यवसायीले गरेका छन् । 
यता बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेको तथा अखाद्य वस्तुहरू जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत तेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार किसान तथा खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ भने पसलमा बिक्री गर्न राखिएका म्याद गुज्रेका केही सामग्री भेटिएका थिए । त्यस्तै अधिकांश पसलहरू दर्ता, नवीकरण नगरी साथै सामान व्यवस्थापनमा मापदण्ड नपुर्याएको पाइएको गाउँपालिकाले जनाएको छ ।       
Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।