• २१ वैशाख २०८१, शुक्रबार
blog

सर्वप्रथम गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा म गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी, प्राविधिक र सबै कर्मचारीलाई बधाई दिन चाहन्छु ।

विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । यस उपलक्ष्यमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा म समस्त नेपाली पत्रकार र सञ्चारकर्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्षको वैशाख २४ को दिन नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन हो । आजभन्दा १२२ वर्षअघि आजकै दिन गोरखापत्र साप्ताहिकको प्रकाशन सुरु भएर अखबारी पत्रकारिताको जग हालिएको थियो । गोरखापत्र दक्षिण एसिया क्षेत्रमा नै पुराना अखबारको हाराहारीको पत्रिका हुनु हाम्रा लागि गौरवको विषय हो ।

कुनै बेला गोरखापत्र नेपाली अखबारको पर्याय थियो । यो नेपालको इतिहासका विभिन्न कालखण्डको प्रत्यक्षदर्शी ऐतिहासिक सामग्रीको सङ्ग्रह पनि हो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनमा यसको भूमिका महत्वपूर्ण छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिक विकासका लागि पत्रकारिताका माध्यमबाट गोरखापत्रले पु-याएको योगदान अविस्मरणीय छ ।

गोरखापत्र संस्थानका प्रकाशनका रूपमा अङ्ग्रेजी भाषामा दी राइजिङ नेपाल र नेपाली भाषामा मधुपर्क, युवामञ्च र मुना मासिक गोरखापत्रका सहयात्री प्रकाशन बनेका छन् । नयाँ नेपाल दैनिक परिशिष्टमा नेपालमा बोलिने ३८ वटा राष्ट्रभाषाका सामग्रीले धेरैभन्दा धेरै भाषाभाषी समुदायमा यसको पहुँच विस्तार गर्ने प्रयास भएको छ । विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि गोरखापत्रका समाचार सामग्री अध्ययनका विषय बनाइएका छन् । यो सबै नेपाली भाषा र साहित्य तथा पत्रकारिताको विकासमा गोरखापत्रको योगदानको परिणाम हो । सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको छ । गोरखापत्र अनलाइन प्रकाशनमार्फत विश्वमा नै यसको विस्तार भएको छ । गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनलाई पनि विधागत, माध्यमगत र प्रविधिगत रूपमा प्रतिस्पर्धी बनाउने चुनौती र अवसर दुवै दिएको छ । आममानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ ।

नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिस्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रूपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो छ । संस्थानको पुनर्संरचना जरुरी भइसकेको छ । गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको छ ।

सामान्यतः गोरखापत्र राज्यको अखबार हो । यसले पत्रकारितामार्फत सरकार र आमजनताका बीचमा सम्बन्ध जोड्ने काम गर्नु पर्दछ । पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्दै समग्रमा राज्यका नीति नियमलाई जनताबीच लैजाने र जनताका आवश्यकता राज्यसम्म पु-याउने काममा यसले आफ्ना उत्पादनलाई केन्द्रित गर्नु आवश्यक छ । राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट के गर्न सकिन्छ, सिर्जनशील रूपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न म यस संस्थानअन्तर्गतका प्रकाशनमा कार्यरत पत्रकारलाई आग्रह गर्न चाहन्छु ।

गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुसी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहो-याएर भन्न चाहन्छु– आन्तरिक व्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्ध बनाउँदै परिचालन गर्न सक्नुपर्छ । 

भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनर्निर्माण तथा लामो समयदेखि अल्झिएको विनियमावलीलाई चाँडो टुङ्गो लगाएर कर्मचारी वृत्तिविकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको छ । यहाँ कार्यरत सञ्चारकर्मी तथा कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक समस्या समाधानका लागि प्रभावकारी पहल गर्न म व्यवस्थापनलाई निर्देशन दिन चाहन्छु । अन्त्यमा, गोरखापत्र दैनिक र गोरखापत्र संस्थानमा कार्यरत सबै पत्रकार र कर्मचारी तथा प्रत्यक्ष र परोक्ष रूपमा तिनमा संलग्न सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

(गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको सम्बोधनको पूर्ण पाठ)