काठमाडौं, वैशाख २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ ।
मन्त्रालयले विश्व हात स्वच्छता दिवसको असरमा एक सूचना जारी गर्दै कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुँदा कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न सकिने जनाएको छ ।
‘हात सफा राखौँ, जीवन बचाउन सबैले सहकार्य गरौँ’ भन्ने नाराका साथ शुक्रबार देशभर विश्व हात स्वच्छता दिवस मनाइदै छ । सही तरिकाले साबुन पानीले हात धुने ६ चरणहरुमा हात धुन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
‘‘हत्केलाले हत्केलाई मिच्ने, दाहिने हत्केलाले देब्रे हत्केलाको माथिल्लो भाग मिच्ने र देब्रे हप्तकेलाले हातको माथिल्लो भाग मिच्ने, औलाको भित्रि भाग अर्को हत्केलाले औलाले मिच्ने, औलाको पछाडिको भागलाई अर्को हातको हत्केलाभित्र हाली मिच्ने, हत्केलाले बुढीऔला समातेर मिच्ने, औलाको टुप्पोले दाहिने र देब्रे हप्केलाको बीच भागमा पारी मिच्ने,’’ हात धुने चरणहरु रहेका छन् ।