• १३ साउन २०८१, आइतबार

अरुण नदीको बाँध भरिएर पुरानै बाटोबाट बग्न थाल्यो

blog

निर्माणाधीन बाँध भरिएर बग्दै गरेको अरुण नदी । तस्बिर सौजन्य : प्रेमा शेर्पा

सङ्खुवासभा, वैशाख १७ गते । अरुण तेस्रोमा सुरुङबाट पठाइएको पानी पहिरोको कारण थुनिएपछि पुरानो मार्ग भएर बग्न थालेको छ । पहिरोले सुरुङ बन्द भएपछि पानीलाई निर्माणाधीन बाँधमा पठाइएको पानी भरिएर पुरानो मार्ग भएर बग्न थालेको हो ।

पानी पुरानो मार्ग भएर बग्न थालेसँगै त्यसबाट जोखिम कम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १८ मिटर अग्लो बाँधमा पठाइएको पानीले करिब २ किलोमिटर ताल बनाएको छ । सो बाँध भरिएर पर्खाल माथिबाट पानी बग्न थालेको हो । 

पानीको पुरानो मार्गमा बाँध निर्माणको लागि ४ सय २९ मिटरको सुरुङ बनाएर पानीको धार परिवर्तन गरी पठाइएको थियो । उक्त सुरुङ पहिरोको कारण थुनिएपछि पानीलाई निर्माणाधीन बाँध तर्फ पठाइएको थियो । पहिरोको कारण क्षति पुगेको सुरुङ मर्मत गरी पुनः पानीको धार परिवर्तन गरिने अरुण तेस्रो परियोजनाले जानकारी दिएको छ ।

मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण स्थलमा आइतबार बिहान पहिरो गएपछि करिब ८ घण्टा बाँधमा पानी जम्मा गरिएको थियो । करिब ८ घण्टापछि पानी पुरानै लयमा फर्किएसँगै खोलामा पानीको बहाव बढ्न थालेको छ । फ्याक्सिन्दामा थुनिएको पानी पुनः बग्न थालेसँगै नदी किनार क्षेत्रमा नजान स्थानीय तहहरू र जिल्ला प्रशासन कार्यालयले सतर्क गराएका छन् । 

Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।