• १३ असोज २०८१, आइतबार

वर्षाले ‘ए’ डिभिजन लिगका खेल स्थगित

blog

पानी पर्नुअघि प्रतिस्पर्धा गर्दै संकटा र जावलाखेलका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख १६ गते । भारी वर्षाका कारण शनिबार शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका खेल स्थगित भएको छ ।

लिग अन्तर्गत च्यासल मैदानमा भएको सङ्कटा क्लब र जावलाखेल यूथ क्लब तथा दशरथ रङ्गशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबको खेल बीचमै रोकिएको हो ।

बाँकी समयको खेल आइतबार खेलाइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । एन्फाले सङ्कटा र जाउलाखेलको बाँकी समयको खेल आइतबार एन्फा कम्प्लेक्स मैदानमा दिउँसो १:०० बजे खेलाउने जनाएको छ । संकटाविरुद्ध जावलाखेल १-० गोलले अगाडि छ । 

वर्षाका कारण खेल ५१औँ मिनेटमा रोकिएको थियो। जाउलाखेलका लागि फोडे फोफानाले ३३औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै हिमालयन शेर्पा र आर्मीबीचको खेल स्थगित खेल आइतबार ४:३० बजे खेलाइने बताइएको छ ।

शेर्पा र आर्मीको खेल ७१औँ मिनेटमा रोकिएको थियो । शेर्पा र आर्मी १-१ गोलको बराबरीमा छन् । आर्मीका लागि नवयुग श्रेष्ठले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्नुभएको हो । शेर्पाका विश्वास श्रेष्ठले ५५औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । 

दशरथ रङ्गशालामा साँझ ६ः०० बजेका लागि तय भएको चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलपनि स्थगित भएको छ । यस खेलपनि आइतबार हुने एन्फाले जनाएको छ ।