• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्री चौधरीले १८ गते विश्वासको मत लिनुहुने

blog

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १६ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सिर्जना गर्ने, प्रदेश सरकारलाई घर–घरसम्म पुगेको अनुभूति गराउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय समेत गरेको छ ।

सो प्रदेशमा नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ तथा जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद गरी ५३ सांसदको समर्थनमा बिहीबार चौधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

विश्वासको मत लिएपछि मन्त्रालय बाँडफाँट तथा मन्त्रिपरिषद् थप विस्तार गर्ने चौधरीको तयारी छ । नवनियुक्त मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्दै यो सरकारले भिन्नै तरिकाले काम गर्ने दाबी गर्नुभयो ।