• २० पुस २०८१, शनिबार

असहमति जनाउन पाइन्छ, आतङ्क सिर्जना गर्न पाइँदैन : उपमहासचिव रिमाल

blog

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १५ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले असहमति जनाउन पाइने तर आतङ्क सिर्जना हुनेखालको गतिविधि हुन नहुने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेश अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुनेक्रममा साङ्घातिक आक्रमण भएको भन्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “झापाको घटनापछि इलाममा जानेक्रममा पनि बाटोमा अवरोध भयो । हिजो १४ गते पशुपतिनगरबाट फर्कनेक्रममा ढुङ्गा राखेर बाटो छेक्ने दुष्प्रयत्न भयो” रिमालले भन्नुभयो, “प्रशासनलाई यथोचित काम गर्न आग्रह गर्‍यौँ, नियन्त्रणभन्दा उछ्ङ्खल गतिविधि एकपछि अर्को गर्दै ढुङ्गा थोपार्ने, तार देखाउने आतङ्क मच्चाउने काम भएको छ, यसको हामी कडा शब्दमा विरोध गर्दछौँ ।” शुक्रबार तेह्रथुमको कार्यक्रममा पनि सोहीखाले अवरोध सिर्जना भएकोप्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कुनै विपक्षी पार्टीको नेतालाई सामान्य रूपमा मन नपरेर नभई आतङ्क सिर्जना गरेर कसरी अस्थिरतामा खेल्न सकिन्छ भन्ने किसिमबाट रिहर्सल भएको उहाँको भनाइ छ । “समाज अराजकतामा जाने, यसको पुनरावृत्ति हुनेखालको खतरा बढ्ने चिन्ताले पनि सार्वजनिक सञ्चार माध्यममार्फत जानकारी गराउन चाहन्छौँ, नियन्त्रण नभए यस्ता घट्नाको डटेर प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौँ” रिमालले भन्नुभयो । 

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले प्रदेशको नामकरण र राजधानी तोक्ने अधिकार प्रदेश सभाको रहेको बताउनुभयो । यसमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।  

भट्टराईले भन्नुभयो, “प्रदेश सभाले त्यो निर्णय गरेको हो । त्यो निर्णय गर्ने संवैधानिक अधिकार प्रदेश सभालाई छ । मधेश प्रदेश नामकरण गर्दा एमालेले विरोध जनाएको थियो, त्यो पनि स्मरण होस् । हामी असहमत छौँ, तर प्रदेश सभामै त्यो विषयमा छलफल गर्छौँ । सक्यौँ भने दुईतिहाई बहुमत पुगाएर त्यो उल्ट्याउँछौँ । असहमत हुने अधिकारको सम्मान गर्छौँ ।”