• २६ पुस २०८१, शुक्रबार

जनकनन्दनी गाउँपालिकामा निःशुल्क प्रसूति सेवा

blog

धनुषाको खजुरीको स्वास्थ्य चौकी । तस्विर : विजयकुमार साह, ढल्केवर ।

विजयकुमार साह 

ढल्केबर, वैशाख १५ गते । धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले खजुरीमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी प्रसूति सेवा दिन थालेपछि सुत्केरी गराउनकै लागि सीमापारि लानुपर्ने बाध्यता हटेको हो । 

सुत्केरी महिलालाई पारी जयनगर र जिल्लाको सदरमुकाम जनकपुर लैजानुपर्ने अवस्थाको अन्त्य भएको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जानकारी दिनुभयो । दक्ष स्वास्थ्यकर्मीले २४ घण्टा प्रसूति सेवा दिइरहेको छ । गाउँमै प्रसूती सेवा उपलब्ध भएपछि सामान्य अवस्थाका प्रसूतिका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । 

जनकपुर २७ किलोमिटर टाढा र भारतीय बजार जयनगर गाउँपालिकाको सीमासँग जोडिएको छ । नजिक भएकाले पनि धेरैजसो सेवाग्राही जयनगर पुग्ने गर्दथ्यो । तर, अब रोकिएको छ, अध्यक्ष यादवले भन्नुभयो । उहाँका अनुसार अहिले केही महिला मात्र गाउँपालिका बाहिरका ठूला अस्पतालमा प्रसूतिका लागि जाने गरेका छन् । 

सेवाग्राहीलाई निःशुल्क उपचारका साथै पोषणयुक्त खानेकुरा र नगद एक हजार रुपियाँ सुत्केरी भत्ता उपलब्ध गराउने गरेको अध्यक्ष यादवले बताउनुभयो । खजुरी स्वास्थ्य चौकीका इन्चार्ज सिकिन्द्र साहले दुई वर्षदेखि प्रसूति सेवा दिइरहेको बताउनुभयो । गत आर्थिक वर्षमा ५३ र चालू आर्थिक वर्षमा ७९ जनाले सुरक्षित प्रसूती सेवा लिएका छन् । 

सामान्य अवस्थाका तथा सानो अपरेसन गरेर सुत्केरी सेवा दिँदै आएका छौं । ठूलो अपरेसन गरेर बच्चा निकाल्नुपर्नेलाई मात्रै अरु अस्पतालमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । 

सुरुको बेला निकै कम खङ्ख्यामा प्रसूति सेवा लिन आउँथ्यो । विस्तारै यहाँको सुविधाबारे प्रचारप्रसार भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । तर, पनि अझै प्रचारप्रसारको खाँचो रहेको इन्चार्ज साहको भनाइ छ । प्रसूति सेवा सुरु भएसँगै गर्भ जाँच गराउन आउने महिलाकोे सङ्ख्या पनि बढेको छ । अहिले सम्पर्कमा रहेका ४० जना गर्भवती महिला नियमित गर्भ जाँचका लागि स्वास्थ्यचौकीमा आउने गरेका छन् । 

स्वास्थ्य जाँचमा सहजताका लागि मधेश प्रदेश सरकारले हालसालमा ६५ लाख रुपियाँ मूल्य बरारबरको ल्याब मेसिनसहित दुई जना कर्मचारी उपलब्ध गराएको छ । ल्याव कक्ष तयारी भइरहेकाले छिट्टै ल्याव जाँचको सुविधा थपिन्छ । गर्भ जाँचमा एकदमै महत्वपूर्ण मानिएको अल्ट्रासाउण्ड मेसिनको भने कमी छ । यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गरिएको उहाँले बताउनुभयो । 

आफ्नै गाउँठाउँमा निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि स्थानीयवासी खुशी छन् । दक्ष स्वास्थ्यकर्मीको संलग्नतामा निःशुल्क प्रसूति सेवा पाएपछि यहाँका गर्भवती महिलालाई राहत मिलेको जनकनन्दनी गाउँपालिका खजुरीका आराधना साह बताउनुहुन्छ । उहाँका अनुसार सामान्य अवस्थाका गर्भवतीलाई पनि प्रसूतिका लागि जनकपुर र पारी जयनगर पुर्याउनुपर्ने बाध्यता थियो । 

आराधना भन्नुहुन्छ, "टाढाको अस्पतालमा लैजानुपर्दा आमा र बच्चा दुबैको स्वास्थ्य जोखिममा हुन्थ्यो । पैसा पनि निकै खर्च हुन्थ्यो । सहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका कतिपय परिवारलाई मुस्किल हुन्थ्यो ।"