• २६ पुस २०८१, शुक्रबार

शिलान्यास भयो अस्पताल बनेन

blog

भीमेश्वर नगरपालिकाको निर्माणाधीन अस्पताल भवन । तस्विरः बाबुराम

दोलखा, वैशाख १५ गते । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले ५–१५ शैय्याको अस्पताल बनाउने लक्ष्य अनुसार शिलान्यास भएका दोलखाका केही स्थानीय तहले अस्पताल भवन निर्माण गर्न सकेका छैनन् । 

थप बजेट नआएपछि शिलान्यास भएका अस्पताल भवनहरू निर्माण हुन नसकेका बताइएको छ । मेलुङ गाउँपालिकाले पहिलो चरणमा आएको ६० लाख रुपियाँले डिपिसी मात्र गरेर छोडेको छ । पालिका अध्यक्ष हीरा थोकरले थप बजेट नआएको र पालिकासँग रकम अभाव हुँदा डिपिसी मात्र  भएर रहेको बताउनु भयो । 

तामाकोसी गाउँपालिकाले पहिलो चरणमा आएको बजेटले सानो कोरोना अस्पताल निर्माण गरेको छ । बिगु गाउँपालिकाले पनि सिँगटीमा कोरोना अस्पताल नै  सञ्चालनमा ल्याएको छ । गौरीशङ्कर गाउँपालिकाले बजेट अभावकै कारण प्राथमिक स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य सेवा प्रदान गर्दै आएको पालिका उपाध्यक्ष श्यामसुन्दर तामाङले बताउनु भयो । 

बजेट अभावकै कारण सैलुङ गाउँपालिकाले पनि अस्पताल भवन निर्माण गर्न सकेको छैन । जिरी नगरपालिकामा पहिले देखि नै जिल्ला अस्पताल रहेको छ । भीमेश्वर नगरपालिकामा आकस्मिक ब्लक सहितको तीन करोड ३० लाख रुपियाँको लागतको शिलान्यास भएको १५ शय्याको अस्पताल भवन निर्माणाधीन रहेको छ ।  कालिन्चोक गाउँपालिकाको सिंँगटीमा रहेको अस्पतालको ६० लाख रुपियाँ बजेटमा स्तरोन्नति भई सञ्चालनमा आएको पालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले बताउनु भयो । 

वैतेश्वर गाउँपालिका–५ रुम्टी भन्ने स्थानमा १५ शैय्याको वैतेश्वर अस्पताल भवन निर्माण भएको छ । पालिका अध्यक्ष छवि लामाले अस्पताल निर्माणका लागि स्थानीय हरिबहादुर दाहाल, जयबहादुर दाहाल, केदार दाहाल, रामकाजी दाहाल, भीमबहादुर दाहाल र जगतबहादुर दाहालले पाँच रोपनी जग्गा उपलब्ध गराउनु भएको बताउनुभयो । 

Author

बाबुराम शर्मा