• ३ पुस २०८१, बुधबार

मूल सुके, मासिए सम्पदा

blog

नवीन शिशिर विक 

बागलुङ, वैशाख १५ गते  । बागलुङको काठेखोला गाउँपालिका–१, पाला आर्कोटको सार्वजनिक जग्गामा चारवटा पोखरी छन्। चार पोखरीमध्ये एउटा पोखरीमा मात्रै नियमित पानी हुन्छ। अन्य तीनवटामा कमिला हिँड्ने अवस्था छ। कुनै बेला भैँसी आहाल राख्न झगडै गर्नुपर्ने आर्कोट क्षेत्र अहिले गोठालो जाने साथी पाउन मुस्किल हुन्छ। 

पोखरीमाथिबाट सडक निर्माण भएपछि पानीका मूल सुके। पोखरीमा पानी आउन छोड्यो। सडक विस्तार भएपछि चारवटै पोखरीमा पानीको अभाव भयो। गाउँलेले चन्दा उठाएर सडकभन्दा माथि खोल्सामा भएको मूल व्यवस्थापन गरी पाइपमार्फत धारोसम्म पानी ल्याएका छन्। ३२ परिवारले प्रतिघरधुरीबाट चार सय रुपियाँ चन्दा सङ्कलन गरेर धारो निर्माण गरेको स्थानीय भूमिराज खत्रीको भनाइ छ। पिउनका लागि पनि प्रयोग हुने गरी मूलको पानी व्यवस्थापन गरी पोखरी चिसो बनाइराखेको खत्रीले बताउनुभयो। एक दशकअघि चारवटै पोखरीमा भरिभराउ पानी हुन्थ्यो। उहाँले भन्नुभयो, “पहिले चौरभरि गाईभैँसी, चौताराभरि गोठाला हुन्थे। अहिले मान्छेजति बजार झरे, गोठ रित्ता र पोखरी सुक्खा भएका छन्।” 

आर्काेटको पोखरीमा गाउँलेले भैँसीलाई पानी खुवाउने र आहाल खेलाउने गर्थे। चौतारीको छहारीमा स्थानीय बसेर थकाइ मार्थे। भैँसी पोखरीमा हुलेपछि विश्राम गर्ने चौतारो जीर्ण बनेको छ। चौतारीका वरपीपल मासिएका छन्। 

जथाभाबी रूपमा निर्माण गरिएका सडकले पानीको मूल पुरिने र पोखरीको अस्तित्व नै सङ्कटमा पर्दै गएको ६४ वर्षीय दिलबहादुर परियारले बताउनुभयो। वरपीपल संरक्षण गर्न छोडेपछि शीतल प्रदान गर्ने छहारी पनि पाउनै मुस्किल पर्छ। पहिले गाउँका टोल, छिमेक र डाँडामा वरपीपल रोपेर चौतारा निर्माण गर्थे। अहिले हराउँदै गएका सम्पदाको संरक्षण गर्न कसैको ध्यान पुगेको छैन। पुराना मौलिक सम्पदा हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त गरेका छन्। 

१५ वर्षअघिसम्म ७०/८० वटा भैँसी हुने आर्कोट चौरमा अहिले मुस्किलले १०/१२ वटा देख्न पाइन्छ। धर्म संस्कृतिसँग जोडिएका पोखरी र चौतारा बसाइँसराइ तथा आधुनिकताले ओझेल परेका छन्। पहिलेपहिले स्थानीयले पोखरी निर्माण गर्दा र चौतारी बनाउँदा पुण्य कमाइने मान्यता रहे पनि अहिले कसैले पनि यस्ता काम नगर्ने खत्रीले बताउनुभयो। बूढापाकाले काम गर्न नसक्ने र युवा पुस्ताले यस्ता धार्मिक काम गर्नेतर्फ चासो नदिँदा पोखरी र चौतारी हराउँदै गएको बताउनुभयो। 

विगतमा गाउँको धेरै ठाउँमा पोखरी संरक्षण गरेर राखे पनि अहिले अधिकांश पोखरी सडकले पुरिएका छन्। पोखरी संरक्षण हुँदा आसपासमा मूल पलाउने, खेतीमा सिँचाइका लागि सहयोग पुग्ने परियारको भनाइ छ। उहाँले भन्नुभयो, “मोटरबाटोले चौतारी, पोखरी मासिए। पूर्वजले वातावरण जोगाउन धेरै गरे तर अहिले सबै मास्नेमा ध्यान छ।”

काठेखोला गाउँपालिका परम्परागत पोखरी संरक्षणमा जुटेको गाउँ कार्यपालिका सदस्य तथा प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो। चालू आर्थिक वर्षमा वडा नं. ४ तग्राममा रहेका पोखरीको संरक्षण गर्न सुरु गरेको भन्दै आगामी वर्षदेखि सबै वडामा सङ्कटमा रहेका पोखरी पुनर्निर्माण गर्ने बताउनुभयो। गाउँपालिकाले यस वर्ष तङ्ग्रामको तापखोर र परम्दीमा रहेका पोखरी संरक्षणका लागि ३० लाख रुपियाँ विनियोजन गरेको थियो।

गाउँपालिका स्थापनापछि सडक निर्माण गर्दा पोखरी, कुवा तथा चौतारा जोगाएको विकको दाबी छ। धेरै गाउँमा अहिले सडक पुगेको र केही गाउँमा मौलिक सम्पदामा क्षति पुगेको भन्दै अब नयाँ संरचना गर्दा ध्यान दिने उहाँको भनाइ छ।