• २५ वैशाख २०८१, मङ्गलबार

महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम

blog

तालिममा सहभागी महिला । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, वैशाख १४ गते । उद्योग सञ्चालनगरी आय आर्जन गर्न चाहने उद्यमी महिलालाई मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले चार वटा वडाका नौ जना महिलालाई सीपमुलक मखमलको जुत्ता चप्पल बनाउने तालिम दिइएको हो । 

सीप सिकेर व्यवसाय सञ्चालन गर्ने योजना बनाएका महिलालाई सीपमुलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताउनुभयो । विशेषगरी महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिका केन्द्र प्राप्चामा दश दिनसम्म सञ्चालन भएको सीपमुलक तालिममा सहभागिलाई मखमलको जुत्ता चप्पल बनाउने सीप सिकाइएको गाउँपालिकाले जनाएको छ । तालिममा सिकेको सीपलाई व्यवहारमा लागु गरेर स्वरोजगार बन्न सहभागिलाई अध्यक्ष राईले सुझाव दिनुभएको छ । 

उत्पादित सामग्रीको बजारीकरण पालिकाले गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाउनुभयो । अन्य वडाका उद्यमी महिलाका लागि पनि आवश्यकताअनुसार आगामी दिनमा विभिन्न सीपमुलक तालिम सञ्चालन गरिने बताइएको छ ।