• २५ पुस २०८१, बिहिबार

नेपालद्वारा कतारलाई एक सय ५८ रनको सामान्य लक्ष्य

blog

टस पछि नेपाल र कतारका कप्तान । तस्बिर : क्यान

काठमाडौं, वैशाख १४ गते । कमजोर ब्याटिङ गरेपछि एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरका सबै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाउनुभयो । उहाँले ५८ बलमा ६ चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यस्तै कप्तान रोहित पौडेलले २७, आशिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाउनुभयो । बलिङमा कतारका अमिर फारोक्युले चार विकेट लिनुभयो । ओईस अहमेदले तीन, ज्ञान मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिनुभयो । 

यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाल आज कतारलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । यस समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

कतार र नेपालको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूहमा नेपालको तीन खेलबाट पाँच र ओमानको ६ अङ्क छ । कतार, मलेसिया र साउदी अरब बाहिरी सकेका छन् । कतारका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाई मात्र हो । 

कतारविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।