ठिट्यौले उमेरमा प्रेमिकाको खोजीमा ए दूरका सितारा मेरो चाँदनी कहाँ छ ? भन्दै गीत लेख्न थाल्ने किरण खरेलको पछिल्लो सङ्ग्रह ए दूरका सितारा–२०७९ प्रकाशमा आउँदा उहाँको उमेरले ८५ टेकिसकेको छ । ठिट्यौले बेलामै लेख्नुभयो– चञ्चले आँखाले हो के गरे मलाई । यी दुवै गीतबाट १९ वर्षकै उमेरमै चर्चित गीतकार बनेपछि गीतकार किरण खरेलको गीत लेखनले करिब छ दशकसम्म निरन्तरता पायो । उहाँको गीतको, योगदानको चर्चा सेलाएको छैन, सम्मान र पुरस्कारले छोडेको छैन । यो उत्साहमा रोगले, भूकम्पले व्यवधान गरेपछि भने अचेल उहाँ अलि सुस्ताउनुभएको छ । लेख्न छाडेको पनि आधा दशक भइसक्यो । त्यसमा पनि कोरोनाले गाँजेको समयमा कान्छो छोरो सुभासलाई २०७७ मङ्सिर ३ गते गुमाउनुपर्दाको पीडाले उहाँ बिथोलिन पुग्नुभयो । नेपाली कथानक चलचित्र किस्मत–२, विस २०७९ सम्म आइपुग्दा उहाँको गीत लेखनको यात्रा छ दशक नाघिसक्यो । प्रेम र प्रणयका गीत लेखनमा बढी केन्द्रित किरण खरेलका पछिल्ला गीत भने अलि पृथक् भए–
लेख्न थाल्दाताका रूपरेखा, शारदा आदिमा केही कथा, कविता, संस्मरण लेख्नुबाहेक उहाँको कलमले गीति क्षेत्रलाई छाडेन, निरन्तर यसैमा लागिपर्नु भयो । गीतमा मात्र यस्तरी लागिपर्नेमा उहाँलाई उछिन्ने पाउन हम्मे नै पर्छ । वि.सं २०२० मा के हो तिम्रो नाउँ, २०२२ मा मेरी पारु, २०३६ मा प्रियतमा, ए दूरका सितारा २०७९, गीत सङ्ग्रह र २०७१ मा नम्रतालगायत सातवटा सीडी प्रकाशमा आइसकेका छन् । किरण खरेलले आजसम्म झन्डै सात सय गीत लेखिसक्नुभएको छ । एक सय नेपाली कथानक चलचित्रमा गीत लेखिसक्नुभएको छ । अझै चार सय जति गीत प्रकाशमा आउन बाँकी छन् । निरन्तर कलम चलाउँदै आउनुभएका उहाँ गीतको स्तर खस्कँदै गएको कुरामा सहमत हुनुहुन्छ– गीत लेखनलाई अचेल हल्का रूपमा लिन थालियोे, जो पनि गीत लेख्ने र यसलाई सजिलो लेखनका रूपमा लिने गरिएको छ । अर्को कुरा स्थापित धेरैजसो गीतकारहरूले गीत लेखन छाड्दै गए, सिकारुहरू बढ्दै गए । यस्तो स्थितिमा स्तरीय गीतको अभाव हुनु स्वाभाविकै हो । गीतलाई हल्का रूपमा लिने प्रवृत्तिले पनि यो अवस्था आएको हो ।
थातथलो काभ्रेको खरेलथोकमा वि.सं. १९९५ सालको माघ २७ गते जन्मिनुभएका किरण खरेल १०–११ वर्षको उमेरमै काठमाडौँ आएर वटु टोलमा बस्न थाल्नुभयो । पढ्ने र जागिर खानेजति वटु टोलमा, अरू सदस्य काभ्रेमै बस्ने परिवारको प्रचलनअनुसार उहाँ काठमाडौँ आउनुभयो । एसएलसी दिएपछि त गीत लेखनतिर लागेर किरण खरेलको जीवनले एउटा बाटो समात्यो । त्यही गीतको बाटोमा निरन्तर उहाँको यात्रा जारी रह्यो । अविरल यात्रामा उमेर, रोग, पुत्रशोकले मन स्थिर भएन बरु कलम स्थिर बनिदियो ।
विगत जस्तो सक्रियता छैन, जोश जाँगर पनि छैन । २०७२ को भूकम्प अनि सोही वर्षदेखि डिस्टोनिया रोगले जिब्रोमा असर गरेपछि लेखन पातलिँदै गयो । नेपाली गीत सङ्गीत क्षेत्रमा यस्तरी लागिपर्दा पनि सम्मान र पुरस्कार, चर्चा र कदरजस्ता कुरामा उहाँको कहिल्यै ध्यान गएन रे । प्रायः कतै देखा नपर्ने दौडधुप नरुचाउने उहाँ भेटिनुभयो आफ्नै घर(वानेश्वर) मा, २०७९ को फागुन मसान्तमा बानेश्वरको उही घरमा । जहाँ उहाँको उमेरको चार दशक बिते, सिर्जनाका कैयौँ अक्षर कोरिए, दुःखसुखका दिन बिते । अहिले उहाँसँग त्यही अतीत खोतल्न, वर्तमान बुझ्न, गीतसङ्गीतका कुरा गर्न तम्सिएको छु ।
उमेरले ल्याएको रोग पालेर निष्क्रियजस्तै जीवन बाँचिरहेको छु । जीवनमा अरू खास परिवर्तन छैन । एक किसिमको निराशा देख्छु उहाँमा । लेखेर बितेको जीवन, नलेखी बस्दाको पीडा । हुन पनि उहाँका जीवनमा एकपछि अर्को पीडा थपिँदै गए । किरण खरेलले रचेका कैयौँ गीत कण्ठाग्र गर्नेहरू भेटिन कठिन छैन, उहाँका गीत गाउने, सङ्गीत भर्नेहरू त्यत्तिकै छन् । उनै किरण खरेलको वर्तमानबारे थोरैलाई मात्र थाहा होला ? झन्डै पाँच दर्जन पुरस्कार–सम्मान पाइसक्नुभएका गीतकार खरेललाई सोध्छु
गीतकार किरण खरेलको मूल्याङ्कन भएको छ त ?
गीत सङ्गीत मेरो पेसा होइन, अभिरुचि हो । यसर्थ यस क्षेत्रको निम्ति आफ्नो अमूल्य समय समर्पण गर्नेहरूको मूल्य ज्यामीको सरह छ भनेर गुनासो गर्ने मेरो अधिकार छैन ।
वि.सं. २०१८ देखि २०२६ सम्मको समयावधिलाई नेपाली गीतको स्वर्ण समय मानिन्छ । यही स्वर्ण समयमा गीत क्षेत्रमा विशेष स्थान बनाउन सफल हुनुभयो उहाँ । माइतीघर, मनको बाँध, सिन्दूर, जीवनरेखा, कन्यादान, सन्तान आदि चलचित्रबाटै चर्चामा आइसक्नुभएका उहाँ गीतमा मात्र किन केन्द्रित हुनुभयो त ?
म साहित्य भनेर मरिमेट्ने साहित्य सेवी होइन । मैले साहित्यलाई शोखका रूपमा मात्र अँगालेको छु । यसैले मैले अनुकूल परिस्थितिमा मात्र गीत लेख्ने गरेको छु । आफ्नो लेखन क्षेत्रलाई गीत रचनामा मात्र सीमित राखेको छु ।
किरण खरेल गीतकार मात्र होइन । नेपाल रेडियो, कैयौँ वृत्तचित्रमा सुनिने उहाँको सुमधुर र प्रभावशाली आवाज सायदै कसैले बिर्सिएला । वि.सं. २०२२ देखि २०२९ सम्म नेपाल रेडियोमा कार्यक्रम निर्माता एवं सञ्चालक, २०२९ देखि २०४३ सम्म शाही नेपाल चलचित्र संस्थानमा मुख्य लेखन तथा उद्घोषण अधिकृत भएर काम गर्ने उहाँ २०४३ देखि २०५० सम्म नायब महाप्रबन्धक बन्नुभयो । नेपाल गीतकार सङ्घका सदस्य, आँचल द्वैमासिकका सम्पादक उहाँ भानुभक्त पुरस्कार, माधव घिमिरे सम्मान, महाकवि देवकोटा शताब्दी सम्मान, मदनशीला स्रष्टा सम्मान, नारायण गोपाल सङ्गीत सम्मान, नातिकाजी सङ्गीत पुरस्कार,क छिन्नलता पुरस्कार आदिबाट सम्मानित भइसक्नुभएको छ । रेडियो नेपालमा चार पटक सर्वोत्तम गीतकारको पुरस्कार पनि पाउनुभएको छ । प्रेमका गीत लेखनमा सिपालु किरण खरेलका नमान लाज यस्तरी, हिमालको काखमा छ सानो मेरो गाउँ, यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर माइतीघर, बाबा तिमीलाई मुटुको गीत सुनाउँदै छु । मजस्ता गीतले माया प्रेमका विविध स्वरूप देखाउन सफल छन् ।
छोरा सुमन खरेल, बुहारी शितु सङ्गीत क्षेत्रमा लागेको प्रसङ्ग निकाल्दै उहाँ गायक गायिकाको तुलनामा गीतकार ओझेल पर्ने कुरामा सहमत हुनुहुन्छ र भन्नुहुन्छ– हामीकहाँ मात्र होइन, अन्यत्र पनि यही हो । प्रस्तोता सधैँ कम चर्चामा आउँछन् ।
यही क्षेत्रमा लागिरहँदा कहिल्यै पश्चाताप लागेन ?
पश्चाताप त कहिले लागेन । म आफ्नै खुसीले लागेको मान्छेको पश्चाताप ? बरु आफैँले अँगालेको क्षेत्रमा रमाइरहेको छु ।
गोरो अनुहार, खुइलिएको तालु, सामान्यभन्दा अलि बढी चुच्चो नाक उहाँको बाहिरी व्यक्तित्व । गीतमा रमेको मन, गीतमै बितेको जीवनले पनि ८५ टेकिसक्यो, रोगलाई, उहाँका पिरलाई बिर्सने हो भने किरण खरेलको व्यक्तित्वमा खासै अन्तर छैन, उही आकर्षक आवाज । देशको राजनीतिको अनेकौँ उतारचढाव देखेको भोगेको, साक्षी बसेको (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)बाट धेरै टाढा छैन उहाँको निवास, यही निवासमा गीत र सङ्गीतका, साहित्य र कलाका अनेकौँ मान्छेको आउजाउ भइरहन्छ, म पनि मिसिएको छु पटक पटक गीतका सन्दर्भमा उहाँका कुरा सुन्न ।
प्रारम्भमा मेरा गीतहरूमा कल्पनाकै प्राथमिकता थियो । बिस्तार–बिस्तार म प्राकृतिक कल्पनाभन्दा वास्तविक यथार्थको नजिक पुग्दै गएँ । कतिपय यथार्थहरू कल्पनाभन्दा कोमल पनि हुँदा रहेछन् । माया गर्नेहरूबाट मैले पाएको खुसी, चोट, हाँसो र आँसुको वर्णन गर्ने हो भने त्यो धेरै लामो हुन्छ । यसर्थ मेरा कतिपय गीतहरूमा मेरो नाम मात्र अङ्कित भएको छ । गीतभित्र भने मलाई माया गर्नेका आँखा, अनुहार, भावना र शब्दहरू भरिएका छन्... यिनीहरूको मायालु रङ्ग रङ्गिएको... यिनीहरूले दिएको आँसु सल्बलाएको छ । यसैले यस्ता गीतहरूलाई मैले यिनीहरूले दिएका उपहारको रूपमा सँगालेको छु ।
देख्दा स्वस्थ र बुढ्यौलीले पटक्कै नछोएको जस्तो देखिए पनि यथार्थमा रोगले, शोकले उहाँ गल्नुभएको छ । तर पनि गीतप्रतिको मायामा कुनै कमी आएको छैन र त भन्नुहुन्छ– अबको जीवन सिरानीमा आफ्नै गीत सङ्गीतको धुन बजाउँदै बिताउने इच्छा छ । यो उमेरसम्म आइपुग्दा पनि आफूले अँगालेको क्षेत्रलाई त्यत्तिकै माया गर्ने किरण खरेल धेरैले माया गरेका, मन पराएका, प्रिय गीतकार हुनुहुन्छ । उहाँले पाएको जीवनको खुसी, प्राप्ति, माया, सम्मान यही नै हो ।