• १७ पुस २०८१, बुधबार

‘बुढ्यौली बोझ होइन’

blog

ललितपुर, वैशाख १२ गते । बुढ्यौली उन्मुख समाजतर्फ नेपाल पनि रहेकाले यसलाई समाजको बोझको रूपमा नभई अवसरका रूपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ । कोरियन एसोसिएसन अफ रिटायर्ड पर्सन्स (कार्प), एजिङ नेपाल र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घबिच सोमबार ललितपुरमा आयोजित सहयोग आदान प्रदान सहमति पत्र हस्ताक्षर कार्यक्रमका वक्ताहरूले यस्तो सुझाव दिनुभएको हो ।  

कार्पका अध्यक्ष म्याङ्ग वाई जुले दक्षिण एसिया बुढ्यौली समाजतर्फ उन्मुख रहेकाले बेलैमा नेपाल लगायत यस क्षेत्रका सरोकारवाला निकाय, नीति निर्माता र सरकार सजग हुनुपर्ने बताउनुभयो । “बुढ्यौली समस्या होइन । यो त समाजका लागि एक अवसर हो । बुढेसकालमा आम्दानी महत्त्वपूर्ण हुन्छ । त्यसैले यस पक्षमा ध्यान दिँदै बुढेसकालमा आम्दानी कसरी बढाउने भन्ने तर्फ सोचौँ” उहाँले भन्नुभयो, “समाजलाई ज्येष्ठ नागरिकबाट समाजले कसरी लाभ लिने । उहाँहरूको सीप, अनुभव र ज्ञान नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा लागौँ । समय सकिएपछि नपछुताऔँ ।”

एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्ण मुरारी गौतमले नेपालमा ६० वर्षभन्दा माथिको उमेर समूह बढ्दै गएको बताउँदै यसअघिको चुनावमा ४० प्रतिशत मतदाता ज्येष्ठ नागरिक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग सरकार बनाउने शक्ति छ । तर नीति बनाउने शक्ति छैन । यसतर्फ हाम्रो भूमिका हुनुपर्छ ।” राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्रबहादुर प्रधानले समाजका लागि ज्येष्ठ नागरिक बोझ नभई अवसर भएको बताउँदै नीति तथा कानुनमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।