• १२ साउन २०८१, शनिबार

तनहुँ–१ मा रास्वपाका उम्मेदवार वाग्ले निर्वाचित

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवार डा.स्वर्णिम वाग्ले ।

तनहुँ, वैशाख १२ गते । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो  । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ । राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।

२०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो  । सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले कांग्रेस छोडेर उम्मेदवार बन्नु भएको हो  ।

कांग्रेसका तत्कालीन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो । नतिजाको औपचारिक घोषणा भने निर्वाचन आयोगले गर्न बाँकी छ । 

Author

अमरराज नहर्की