• १३ असोज २०८१, आइतबार

चेम्बरद्वारा अख्तियार सम्बन्धी विधेयकबारे सभामुखको ध्यानाकर्षण

blog

सभामुख देवराज घिमिरेलाई भेटेर अख्तियार सम्बन्धी विधेयकबारे संसदको ध्यानाकर्षण गराउँदै नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी । तस्बिर : सभामुखको निजी सचिवालय

काठमाडौं, वैशाख ११ गते। नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेस्रो संशोधन विधेयक, २०७९ का विषयमा सभामुख देवराज घिमिरेलाई भेटेर संसद्को ध्यानाकर्षण गराएको छ।

सोमबार चेम्बरले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि दायरामा ल्याउने व्यवस्थाका विषयमा सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो।

चेम्बरले राष्ट्रिय सभाबाट स्वीकृत भएर प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयकमा निजी क्षेत्रलाई पनि दायरामा ल्याउने गरेको व्यवस्था नेपालको संविधान अनुकूल नहुने जानकारी गएको हो। 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल लगायतको टोलीले सभामुख घिमिरेलाई मुलुकको अर्थतन्त्रमा हाल जोखिम रहेका बेला निजी क्षेत्र थप सङ्कुचित हुने जानकारी गराएका छन्। अध्यक्ष मल्लले प्रतिकुल असर पर्ने कानुनी व्यवस्था नगरी उद्योग व्यवसाय प्रवर्द्धन, संरक्षण गरेर निजी क्षेत्रको मनोबल उकास्नु पर्नेमा हतोत्साहित हुने वातावरण बनाएको भन्दै वातावरण सहज बनाउन पहल गर्न माग गरेको बताउनुभयो। उहाँले सभामुखले व्यवसायीसँगको भेटमा व्यवसायीको मागमा सकारात्मक रहेको बताउनुभएको जानकारी दिनुभयो।

चेम्बरले निजी क्षेत्रले अनियमितता गरे कारबाही गर्ने छुट्टै नियामक निकायको व्यवस्था रहेको भन्दै अख्तियारको क्षेत्राधिकार भित्र व्यवसायीलाई पर्दा व्यावसायिक निर्णय गर्न कठिन हुने बताएको छ।