• १७ असार २०८१, सोमबार

एसिसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा

blog

पानी परेपछि खेल अवरुद्ध भएपछि मुलपानी क्रिकेट मैदानमा नेपाली खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख ११ गते। एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन्। 

यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

समूह ‘ए’ मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ। त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ। कतारले भने अङ्क जोड्न सकेको छैन।

साउदी र नेपालले अङ्क बाँडेपछि समूह ‘ए’ बाट कतार र मलेसिया औपचारिक रूपमा बाहिरिएको छ । यस समूहबाट ओमान र साउदी अरबबीच बुधबार हुने खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल समूह विजेता बन्नेछ।

प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ। ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन्। 

त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन्।