रवीन्द्र उप्रेती
बर्दिबास, बैशाख १० गते । महोत्तरीको सीमावर्ती नगरपालिका मटिहानी –६ स्थित जरहलवा टोलको घनावस्तिमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आइतवार दिउँसो स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको छ ।
प्रहरीको प्रारम्भिक अनुमानमा आगलागीबाट २० लाख मूल्य बराबरको क्षति भएको छ । आगोले घरलगायत भाँडावर्तन, अन्नपातसमेत खरानी पारेकाले आठ वटै परिवार विचल्लीमा छन् ।
मटिहानी नगरपालिमा बारुणयन्त्र नभएका कारण पनि समयमै नियन्त्रण गर्न नसक्दा आगलागीले विकराल रुप लिएको स्थानीयको भनाइ छ । घट्नास्थल पुगेको सेना, सशस्त्र, प्रहरी टोली तथा जलेश्वर नगरपालिकाको बारुणयन्त्र र स्थानीयको प्रयासले २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।