• ११ मंसिर २०८१, मङ्गलबार

प्रवासीद्वारा विद्यालय भवन पुनर्निर्माण

blog

प्रवासमा रहेका बेगखोलाबासीद्वारा पुनर्निर्माण गरिएका महादेव माविकोे भवन । तस्बिर : साधन घर्ती

साधन घर्ती
म्याग्दी (दरबाङ), वैशाख १० गते ।
 प्रवासीको सहयोगमा जीर्ण महादेव माविको भवन पुनर्निर्माण गरिएको छ । वि.सं.२०७२ को भूकम्पले जीर्ण बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगस्थित महादेव माविको भवन प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो । विद्यालय भवन पुनर्निर्माण भएपछि जोखिमपूर्ण पठनपाठन हटेको छ । बजेट अभावका कारण विद्यार्थी जीर्ण भवनमै पढ्न बाध्य थिए । बेगगाउँमा जन्म भई रोजगारी तथा विभिन्न सिलसिलामा प्रवासमा पुगेका ब्यागवासीको सहयोगमा भवन निर्माण भएको हो ।

विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर वि.सं २०७५ सालमा बेगखोलावासी तथा बेगखोला कल्याणकारी समाजले भवन निर्माण भियानकाले थालनी गरेका थिए । उक्त अभियानबाट सङ्कलित एक करोड ५० लाख रुपियाँ चन्दा सङ्कलन गरी सात कोठे भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिनुभयो ।

भवन निर्माणमा बेगखोला बाहिरका व्यक्तिले समेत सहयोग गरेको संयोजक फगामीले बताउनुभयो । फगामीले भन्नुभयो, ‘‘भूकम्पले विद्यालयको भवन जीर्ण बनेको थियो, जीर्ण भवनमा पठनपाठन जोखिमपूर्ण भएको हुँदा हामीहरूले भवन निर्माण अभियान थालेका हौँ, कोभिडलगायत विविध कारणले भवन निर्माण समयमै सम्पन्न हुन सकेन, यद्यपि ढिलै भए पनि काम सकिएके छ, अब पहिलेको जस्तो जोखिमपूर्ण हुने छैन ।”

बेगखोलावासी लगायत विभिन्न ठाउँबाट सहयोग मिल्दा सुविधायुक्त भवन निर्माण गर्न सकिएको भवन निर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु)ले बताउनुभयो । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ गर्बुजाले विद्यालय भवन पुनर्निर्माणबाट विकासमा सरकार र समुदायको साझेदारीको नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले विद्यालयमा थप संरचना निर्माण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

चन्दा सङ्कलन गरी निर्माण गरिएको भवनबाहेक पुनर्निर्माण प्राधिकरणअन्तर्गत शिक्षा इकाईमार्फत ३४ लाख रुपियाँ लागतमा तीन कोठे र ६० लाख रुपियाँ लागतमा चार कोठे भवन पनि निर्माण भएको प्रअ दूतबहादुर गर्बुजाले जानकारी दिनुभयो । भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताउनुभयो । यसअघि जस्ता र ढुङ्गाले छाएको जीर्ण भवनमा पठनपाठन हुँदै आएको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा १४० जना विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ४ देखि नै कम्प्युटर विषय पठनपाठन गराउँदै आएको उहाँको भनाइ थियो । विद्यालयमा शिक्षक कर्मचारीको लागि अझै भवन अपुग रहेको उहाँले बताउनुभयो । अभियानमा आर्थिक सहयोग गर्ने दाताहरूको नाम विद्यालयमा शिलालेखमा लेखिएको छ । विद्यालय भवन संयोजक फगामीसहित नक्कु पुर्जा, गिरी शेरपुञ्जा, पदमबहादुर पुर्जा, नगेन्द्र पाइजा र युवबहादुर गर्बुजाको विशेष सक्रियतामा आर्थिक सङ्कलन गरिएको थियो । विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका दाजुभाइका परिवारले करिब १४ लाख रुपियाँ लगानीमा कम्प्युटर ल्याब स्थापना गरिदिनुभएको छ ।