• १३ पुस २०८१, शनिबार

तनहुँमा उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द हुने

blog

अमरराज नहर्की

तनहुँ, वैशाख ९ गते। आइतबार हुने तनहुँ–१ को उपनिर्वाचन क्षेत्रमा यातायात सेवा बन्द  गर्ने निर्णय भएको छ।  बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा पृथ्वीराजमार्गको मुग्लिन पुलदेखि व्यास नगरपालिका–५ को चापाघाट मादीको पुलसम्म डुम्रे बेसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली–दुई पिप्ले सडकखण्ड लगायत सबै स्थानीय सडकमा यातायात बन्द हुने जनाइएको छ। 

निर्वाचन क्षेत्र अन्तर्गत पर्ने देवघाट, आँबुखरैनी, बन्दीपुर गाउँपालिका र भानु तथा व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ नम्बर वडाबाहेक सबै बन्द हुने विज्ञप्तिमा जनाइएको छ। दमकल, एम्बुलेन्स, खानेपानी र दुध बोक्ने गाडी, शवबाहन, फोहोरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य, अस्पतालको परिचयपत्रसहित चलेका सवारी साधन र सूचना तथा सञ्चार विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधन पूर्ण रुपमा बन्द रहने विज्ञप्तिमा उल्लेख छ। 

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का ४२ वडामा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र तोकिएको छ। सो क्षेत्रमा एक लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।