गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । सल्यान स्थायी घर भई काठमाडौँ कोटेश्वर बस्दैआएका नरेश केसीका परिवारले आफ्नो २० महिने छोरा बचाउन सहयोग गर्न सार्वजनिक अपिल गरेको छ । छोरा प्रणय केसी स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगबाट पीडित बनेपछि केसी र उहाँका पत्नी पद्मा केसीले छोरा बचाउन अपिल गर्नुभएको हो ।
२०७८ साउनमा जन्मेका प्रणय नौ महिनाको हुँदादेखि कमजोर बन्दै गएपछि गत कार्तिकमा भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालले बच्चालाई एसएमए भएको आशङ्का गरेको थियो । अस्पतालले मङ्सिर २८ गते बच्चालाई एसएमए नै भएको निधो गरी उपचार खर्चिलो भएको भन्दै फर्कायो । दुई वर्षमुनिका एसएमए पीडित शिशुलाई लगाइने जोजेन्स्मा नामक इन्जेक्सनको मूल्य १७ करोड भारतीय रुपियाँ पर्ने जानकारी पाएपछि केसी दम्पती चार महिनासम्म भारतमा बसेर छोराको उपचार प्रयास गर्नुभयो ।
भारतमा सो इन्जेक्सन सरकारले नै निःशुल्क गरेको जानकारी पाए पनि आफू नेपाली नागरिक भएका कारण प्रणयलाई लगाउन नपाएको केसीको भनाइ छ ।
अबको चार महिनाभित्र बच्चालाई जोजेन्स्मा नामक इन्जेक्सन लगाउनुपर्ने चिकित्सकले बताएका छन् । त्यसका लागि करिब २८ करोड नेपाली रुपियाँ अस्पताललाई बुझाउनुपर्ने चिकित्सकको भनाइ छ ।
‘उपचार महँगो छ । करोडौँ रुपैयाँ लाग्छ । जोजेन्स्मा सुई लगाएपछि मेरो छोरा बाँच्न सक्छ’ उहाँले भन्नुभयो । उपचार अभावमा प्रणयको स्वास्थ्य नाजुक बनेको छ । एसएमए रोगका पाँच प्रकार छन् । बच्चा पेटमा हुँदा देखि ४० वर्षका मानिसलाई पनि एसएमए हुनसक्छ । केही वर्षअघि सियोना श्रेष्ठ पनि यही रोगबाट पीडित हुनुभएको थियो । उहाँले पनि भारतमा उपचार गराउनुभएको थियो । सन् २०१९ मा अमेरिकामा बनेको सो औषधि अझै परीक्षणकालमै छ ।
‘बालक प्रणयको उपचारका लागि सहयोग गर्न ग्लोबल आइएमई बैङ्क शंखमुल शाखामा विरामी बालक प्रणय केसीको नाममा रहेको खाता २५७०७०१०१५४८३३ मा रकम जम्मा गरिदिन उहाँले सहयोगीहरूमा आग्रह गर्नुभएको छ ।