• ११ साउन २०८१, शुक्रबार

कतारको नेपाली दूतावासबाट श्रम स्वीकृति सेवा

blog

काठमाडौँ, वैशाख ९ गते । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । सरकारले केही महिनाअगाडि मन्त्रीस्तरीय निर्णय गर्दै श्रम गन्तव्य देशबाट श्रम स्वीकृतिको व्यवस्था गर्ने घोषणा गरेको थियो । दूतावासबाट श्रम स्वीकृति बढीमा दुई पटकसम्म लिन पाइने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । 

पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउनुपर्ने हुन्छ  । कनेक्ट आईपीएस, इसेवा, खल्तीलगायत एपबाट यस्तो रकम तिर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । त्यसो त मलेसियामा रहेको दूतावासले पनि यही वैशाख १५ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरिएको जनाएको छ ।