• २० असार २०८१, बिहिबार

खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन सुरु

blog

छुटेका बालबालिकालाई खोप लगाइँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, वैशाख ८ गते ।
 नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार अहिलेसम्म कुनै पनि खोप नपाएका १६ देखि ५९ महिनाका बालबालिकाको घरघरमा गएर खोप लगाउन थालिएको हो ।

प्रमुख बस्नेतले हिजो (बिहीबार) सम्म ५० जना बालबालिकालाई खोजेर खोप लगाइएको र अन्यलाई लगाउने कार्य चलिरहेको बताउनुभयो । सोही प्रकारले आंशिक खोप छुटेका ८० जना बालबालिकालाई पनि नियमित खोप केन्द्रमै गएर खोप सेवा दिएको बस्नेतले जानकारी दिनुभयो ।

यही वैशाख महिनाको अन्तिममा नेपालगञ्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि खोप लगाउन छुटेका बालबालिकाहरूलाई घर–घरमा पुगेर खोजिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर  ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको महाशाखाका निमित्त प्रमुख बस्नेतले बताउनुभयो ।

‘‘सो अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी गर्‍यौ, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका थियौँ,’’ बस्नेतले भन्नुभयो, ‘‘चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरूको लाइन लिष्टिङ गरेका छौँ, उनीहरूलाई अहिले खोप लगाउने कार्य भइरहेको छ ।’’

नेपालगञ्जमा सबैभन्दा ठूलो जनसङ्ख्या भएको मधेशी र मुस्लिम समुदायमा बालबालिकालाई खोप लगाउने कार्य निकै कम भएको पाइएको पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।