अमरराज नहर्की
तनहुँ, वैशाख ७ गते । भानु मार्ग र पृथ्वी राजमार्ग जोड्ने वागेश्वरी मोटर मार्ग बनेपछि स्थानीय बासिन्दाको यात्रा अवधि छोटिएको मात्रै छैन, धुलो खानुपर्ने र जाममा पर्नुपर्ने बाध्यतासमेत हटेको छ। पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका–७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको हो।
व्यास नगरपालिका–११, मूलपानी निवासी मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले एक घण्टाभन्दा बढीको समय छोटिएको बताउनुभयो। भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७ र १२ नम्बर वडाका नागरिकलाई आवतजावतमा सहज भएको छ। पृथ्वीराजमार्ग विस्तारको कार्य भइरहेकाले डुम्रेबाट दमौलीसम्मको १८ किलोमिटर धुलाम्मे सडक र जाममा परेर यात्रा पार गर्नुपर्ने बाध्यता हटेको मोटर मार्गका पूर्वअध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो। समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको उहाँले बताउनुभयो।
यस मोटर मार्गमा बस लगेपछि चालक किशोर गुरुङलाई स्थानीयले अबिर जात्रासहित भव्य स्वागत गरेका छन्। यहाँबाट सवारीसाधन सञ्चालन हुँदा दमौली आउन घण्टौँ पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको भानु नगरपालिका–६ स्थित वागेश्वरी आमा समूहकी अध्यक्ष बिन्दु वाग्लेले बताउनुभयो। वाग्लेले भन्नुभयो, “मोटर मार्ग चलेपछि बिरामी हुँदा अस्पताल जान, खाद्यान्न ढुवानी तथा आवतजावतका लागि सहज भएको छ। अब नियमित बस चल्ने भएपछि खुसियालीमा अबिर जात्रासहित स्वागत गरेका हौँ।” चन्द्रावतीदेखि पड्के पसल, टुहुरे पसल, वरभन्ज्याङ, मान्द्रे, ठूलोचौर र मूलपानीका सयौँ स्थानीय बाटोमा भेला भई बसलाई अबिर जात्रासहित स्वागत गरेका थिए। यस मोटर मार्गमा पहिलो पटक बस सञ्चालन गरिएपछि स्थानीयले आफूहरूलाई अबिर जात्रासहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताउनुभयो।
करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो। घाँसीकुवादेखि भानु नगरपालिका–६, पड्के पसलसम्म १४ किलोमिटरसम्म वागेश्वरी मोटर मार्ग पर्दछ तर थप नौ किलोमिटर पक्की सडकखण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म आउने जाने गर्ने वागेश्वरी मोटर मार्ग उपभोक्ता समितिले जनाएको छ।
उक्त मार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो। चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नुपर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ। पृथ्वी राजमार्ग बस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको मोटर मार्गका अध्यक्ष भट्टराईले बताउनुभयो।