• १९ असार २०८१, बुधबार

खानेपानी आयोजना अलपत्र

blog

लिफ्ट आयोजना सञ्चालनका लागि राखिएको सोलार प्यानल । तस्बिर : नवीन शिशिर विक

बागलुङ समाचारदाता 

बागलुङ, वैशाख ६ गते । खानेपानी अभाव भोग्दै आएको काठेखोला गाउँपालिका–३, धम्जा देउरालीका स्थानीय दुई वर्षअघि हर्षित थिए। देउरालीका स्थानीयको घरघरमा खानेपानी सुविधा पु-याउने लक्ष्यका साथ सोलार लिफ्ट आयोजना सुरु भएपछि खानेपानी सुविधा पाउने आशामा स्थानीय खुसीले गदगद भए। आयोजना निर्माणमा जनश्रमदान, स्थानीय रूपमा गर्न सक्ने अन्य व्यवस्थापकीय काममा उनीहरूले निर्माण पक्षलाई सहयोग गरे। 

जतिसक्दो छिटो काम सकेर आफ्नो अभाव टार्ने दिनको पर्खाइमा रहेका उपभोक्ताको अपेक्षा पूरा भएन। लिफ्ट खानेपानी आयोजनामा प्राविधिक त्रुटि भएपछि उपभोक्ता निराश भएका छन्। आयोजना सञ्चालन नहुँदा लाखौँको संरचना उपभोगविहीन भएको छ। देउरालीका २० घरधुरी, एक सामुदायिक विद्यालय र स्वास्थ्य चौकी उक्त आयोजनाका उपभोक्ता हुन्। देउराली खर्कको चौरमुनिको खोलाबाट पानी तानेर बस्तीमाथि निर्माण गरिएको ट्याङ्कीमा सङ्कलन गरी वितरण गर्ने लक्ष्यका साथ आयोजना सुरु भएको थियो। 

काठेखोला गाउँपालिकाका करिब तीन चरणमा १९ लाख रुपियाँ लगानीमा निर्माण भएको आयोजनाको पानी तान्न मूलमा प्रयोग भएको मोटर पटक–पटक बिग्रेपछि स्थानीयले पानी उपयोग गर्न नपाएको उपभोक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो। एक दुई दिन मूलबाट ट्याङ्कीसम्म पानी ताने पनि वितरण भएन। बस्तीमाथि १० हजार लिटरको पानी सङ्कलन ट्याङ्की निर्माण गरिएको छ। आयोजना दुई वर्षअघि सम्पन्न भएको थियो तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन। 

स्थानीयले मठे र असोजे खोलाबाट पाइपमार्फत ल्याएको पानी सीमित मात्रामा प्रयोग गर्दै आएका छन्। श्रेष्ठले भन्नुभयो, “नयाँ योजनाले पानी प्रशस्तै हुने अपेक्षा थियो। दुई पटकसम्म मोटर मर्मत गर्दा पनि नियमित नभएपछि पुरानै पानीको भरमा दैनिकी चलाएका छौँ।” पुरानो खानेपानीले खाना र बस्तुभाउलाई खुवाउन पुगे पनि नुहाइधुवाइलाई नपुग्ने उहाँको भनाइ छ। दैनिक दुई घण्टाका दरले पानी वितरण हुँदै आएको छ। नुहाउन र कपडा धुन नजिकको खोला र खोल्सामा जानुपर्ने बाध्यता छ।  

प्राविधिक समस्याले आयोजना सञ्चालन नभएको उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताउनुभयो। श्रीसले भन्नुभयो, “पहाडको माथिल्लो भागमा बस्ती हुँदा नजिकमा मुहान छैनन्। पानी पम्प गरेर तान्ने मोटर चट्याङले क्षति गरेको छ।” आयोजना सञ्चालनका लागि वडा र गाउँपालिकामा पहल गरेको जानकारी उहाँले दिनुभयो। आयोजना सञ्चालन नभएकाबारे आधिकारिक रूपमा वडा कार्यालयमा जानकारी नभएपछि वस्तुस्थिति पत्ता लगाएर जनतालाई खानेपानी सुविधा विस्तार गर्ने वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो। वडाध्यक्ष विकले भन्नुभयो, “नागरिकले खानेपानी सहज ढङ्गले पाउनुपर्छ। प्राविधिक समस्या र त्यहाँको वास्तविक अवस्था बुझेर काम अघि बढाउँछौँ।” १०५ मिटर तलको मूलबाट पानी तान्ने व्यवस्था मिलाइएको छ।