• ३ पुस २०८१, बुधबार

फोहोर अझै उठेन, ‘उठाउँदिन भन्नु राम्रो होइन’

blog

काठमाडौँ, वैशाख ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोहोर व्यवस्थापनमा काठमाडौँ महानगरपालिका जिम्मेवार हुनुपर्ने बताउनुभएको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस विषयमा सरकार गम्भीर रहेको र सहरी विकास मन्त्रालयले पनि त्यसका लागि सहजीकरण गरिरहेको बताउनुभयो।

उहाँले स्थानीय सरकार सञ्चालन ऐनमा फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको बताउँदै भन्नुभयो, “कुनै माग पूरा गराउने उद्देश्यले फोहोर उठाउँदिन भन्नु वा द्वन्द्व गर्न खोज्नु राम्रो होइन। सबैले आ–आफ्नो पदीय हैसियत र मर्यादा बुझ्नुपर्छ। पदीय हैसियतमा बसेका पदाधिकारीलाई यो पाठ पढाइरहनुपर्छ भन्ने लाग्दैन।”

सरकारका अति विशिष्ट कार्यालय र निवासको फोहोर ११ दिन बितिसक्दा पनि उठ्न सकेको छैन। काठमाडौँ महानगरपालिकाको निर्देशनमा फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाले गत चैत २५ गतेदेखि अति विशिष्ट कार्यालय र निवासको फोहोर उठाउन छोडेको हो। 

सरकारले फोहोर व्यवस्थापनलाई अत्यावश्यक कामभित्र सूचीकृत गरे पनि फोहोर व्यवस्थापन नभएको दुई हप्ता पुग्नै लाग्दा सम्बन्धित निकाय संवेदनशील बनेका छैनन्। ती कार्यालय र निवासबाट दैनिक नौ मेट्रिक टन फोहोर उत्सर्जन हुने गरेको छ।

फोहोर व्यवस्थापनको विषय गत साता बसेको मन्त्रीपरिषद् बैठकमा समेत छलफल भए पनि सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका बीचको मौनता र संवादहीनताका कारण राष्ट्रपतिको कार्यालय, सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, मन्त्री निवास, प्रतिनिधि सभाका सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीशको निवासको फोहोर व्यवस्थापन हुन सकेको छैन।

फोहोर व्यवस्थापनको जिम्मा पाएका परिवर्तन सेवा प्रालिका प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरेले फोहोर व्यवस्थापनका लागि आफूहरूलाई अहिलेसम्म सङ्घीय सरकार र महानगरपालिकाबाट मौखिक वा लिखित निर्देशन नआएकाले फोहोर नउठाएको स्पष्ट पार्नुभयो। 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सङ्घीय सरकारले महानगरसँग वार्ता नगरेसम्म फोहोर नउठाउने स्पष्ट पार्नुभयो। उहाँले यस सम्बन्धमा छलफल वा वार्ताका लागि सङ्घीय सरकारले महानगरलाई पत्राचार नगरेको बताउनुभयो।

यसैबीच सिंहदरबारको फोहोर सिंहदरबारभित्रै व्यवस्थापन गर्न सुरु गरिएको छ। दुर्गन्ध र सङ्क्रमण नफैलियोस् भनेर सिंहदरबारभित्र वर्गीकरण गरेर फोहोरको व्यवस्थापन गर्न लागिएको हो। सिंहदरबारको फोहोर उठ्न नसकेको मङ्गलबार ११ दिन भइसकेको छ। परिवर्तन सेवाका व्यवस्थापक घिमिरेले भन्नुभयो, “सिंहदरबारमा उत्सर्जन हुने गरेका फोहोरलाई कुहिने, नकुहिने र रिसाइकल हुने फोहोरमा वर्गीकरण गरेर व्यवस्थापन सुरु गरिएको छ। रिसाइकल हुने कागजपत्र, कार्टुनजस्ता फोहोर दैनिक रूपमा कबाडीलाई बेच्ने गरिएको छ।” 

उहाँका अनुसार खाद्यान्न मिसिएका फोहोर गाईगोरु र सुँगुरको आहाराका लागि सम्बन्धित व्यक्तिलाई दिने गरिएको छ। कतिपय कुहिने फोहोरलाई मल बनाउने प्रयोजनले खाल्डोमा पुरिने गरिएको छ भने पुनः प्रयोग हुन सक्ने फोहोर तत्कालका लागि सिंहदरबारको केन्द्रीय उद्यानमा जम्मा गरिएको छ। त्यसलाई पछि बन्चरेडाँडामा बिसर्जन गरिनेछ। उहाँका अनुसार सिंहदरबारमा औसतमा दैनिक पाँच मेट्रिक टन फोहोर उत्सर्जन हुने गरेकोमा तीन मेट्रिक टन कुहिने प्रकृतिका हुन्छन्।

कुनै माग पूरा गराउने उद्देश्यले फोहोर उठाउँदिन भन्नु वा द्वन्द्व गर्न खोज्नु राम्रो होइन। सबैले आ–आफ्नो पदीय हैसियत र मर्यादा बुझ्नुपर्छ।काठमाडौँ महानगरपालिकाको निर्देशनमा फोहोर व्यवस्थापनको जिम्मा लिएको संस्थाले गत चैत २५ गतेदेखि अति विशिष्ट कार्यालय र निवासको फोहोर उठाउन छाडेको हो।