• १३ असोज २०८१, आइतबार

‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’

blog

राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले सभासमक्ष पेश गरेको उक्त समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा धारणा राख्दै सदस्य खिमलाल देवकोटा । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, वैशाख ४ गते । सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरूले ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेका समितिले गहन छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसदहरूले मन्त्री, सचिवलाई समितिमा बोलाइए पनि गहन ढङ्गले छलफलमा प्रस्तुत नहुने, झारा टार्ने, मात्रै प्रक्रियाका रूपमा अगाडि बढाउने, समितिलाई गम्भीररुपमा नलिने देखिएकाले यतातर्फ संसद्को ध्यान जानुपर्ने बताउनुभयो । सांसद सोनामग्येल्जेन शेर्पाले समितिले दिएको निर्देशन र सुझावप्रति सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “समितिलाई मिनी संसद्का रूपमा समेत लिइन्छ तर यसबाट आएको निर्देशनप्रति सम्बन्धित मन्त्री गम्भीर देखिएनन् ।”

सांसद गोपीबहादुर सार्की आछामीले सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित निर्देशनको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नमुना कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने निर्देशन लागू भएको छ । तर संविधानसँग बाझिएका ऐन, कानुन नबन्दा सङ्घीयता कार्यान्वयन प्रभावकारी र व्यवस्थित बनाउन सकिएको छैन ।” उहाँले वित्तीय सङ्घीयतासम्बन्धी विषय टुङ्गो लाग्नुपर्ने बताउनुभयो ।

सांसद जयन्तीदेवी राईले समितिको निर्देशनका बाबजुद अपेक्षाकृत रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाबाट लगानीअनुसार प्रतिफल नदेखिएको बताउनुभयो । “राष्ट्रिय गौरवका आयोजनामा त्यतिबेला चुनौती र सम्भावनालाई ख्याल नगरी घोषणा गरिएको हो कि ? वर्षैपिच्छे पैसा गइरहेको छ तर प्रतिफल प्राप्त भइरहेको छैन ।”

सांसद खिमलाल देवकोटाले समितिको तहगत अन्तरसम्बन्धमा  निर्देशनका विषयमा कार्यान्वयन फितलो रहेको बताउनुभयो । “अहिले पनि प्रदेश र स्थानीयले सरकारको अनुभूत गर्न पाएका छैनन् । संविधानको व्यवस्था विपरीत केन्द्रीकृत सरकारको मानसिकता हाबी छ”, उहाँले भन्नुभयो । उहाँले प्रहरी ऐन, निजामती ऐन बन्न नसक्दा प्रदेशले एकल अधिकारसमेत प्राप्त नगरेको बताउनुभयो । 

सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय गौरव आयोजनामा अन्तर मन्त्रालय समन्वयको अभाव भएको बताउनुभयो । कोरोना महामारी बढ्दो अवस्थामा देखिएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “बढ्दो कोरोनाका नियन्त्रणका लागि सरकारको तयारी के छ ? विद्यमान कानुनले औषधि खरिदसँगै नयाँ खोप र प्रविधिको प्रयोग गर्न समस्या देखिएको छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तयारी के छ ? ”

सांसद कमला पन्तले बूढीगण्डकी आयोजना पर्याप्त बजेटका बाबजुद पनि निर्माण ढिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष असारमा रु ९२ अर्ब बजेट सङ्कलन भइसकेको थियो । सात वर्ष सात महिनाको निर्माण अवधि आउँदो असारमा सकिन्छ । आउँदो असारमा एक हजार दुई सय मेगावाट बिजुली उत्पादन भइसक्नुपर्ने थियो । तर काम सुस्त गतिमै छ ।”

सांसद देवेन्द्र दाहालले सरकारले समितिको निर्देशन कार्यान्वयन ३० प्रतिशतसमेत नभएको बताउनुभयो । उहाँले सरकारले सांसदले दिएको निर्देशन नसुने समृद्धि असम्भव भएको बताउनुभयो । सांसद गङ्गाकुमारी बेल्बासेले निजगढ द्रुतमार्ग निर्माण ढिलो भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मदनकुमारी शाह (गरिमा) ले राष्ट्रिय गौरवका आयोजनामा आएका अवरोध तदारुकताका साथ समाधान नखोजिएको भन्दै सरकारको ध्यानाकृष्ट गराउनुभयो । उहाँले आयोजनाको गुणस्तरतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । सांसद विमला राई पौड्यालले परियोजना निर्माणको प्रक्रिया र पद्धतिमा सुधारको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना नेपालको आवश्यकताले बनेका छन् कि दाताको आवश्यकताले ? नेपालको आवश्यकताले बनेको कतिपय परियोजनाका निर्माण व्यवसायी इमान्दार छैनन् । आयोजनाको जिम्मेवारी दिनअघि निर्माण व्यवसायीको ‘ट्याक रेकर्ड’ हेर्नुपर्छ ।”

सांसद जीतेन्द्रनारायण देवले समितिले दिने निर्देशनलाई गम्भीर रूपमा नलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्को सर्वोच्चताका आधारमा संविधान निर्माण भएका छन् । तर दुःखको कुरा सरकारले सङ्घीय संसद् भनेको राष्ट्रियसभा हो भन्ने कुरालाई बुझ्न खोजेको छैन । जसका कारण यसको चार समितिको निर्देशनप्रति गम्भीरता देखिँदैन ।”

सांसद शेखरकुमार सिंहले राष्ट्रियसभाका चारवटै समितिको निर्देशन सरकारको सहयोगका लागि भएको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । उहाँले पशुपति विकास कोषको गुठीको जग्गा भाडाको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसअघि बैठकले समितिको तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकमा समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीलाई ‘आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । रासस