• १९ असार २०८१, बुधबार

कोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण

blog

कोहलपुरमा निर्माण गरिएको सपिङ कम्पलेक्ससहितको आधुनिक बसपार्क । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, बैशाख ४ गते । विकास निर्माणमा तीव्र गतिमा अगाडि बढ्दैगएको बाँकेको दोस्रो ठूलो सहर कोहलपुरमा अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क निर्माण भएको छ । कोहलपुर नगरपालिकाद्वारा नगर विकास कोषसँगको ऋण सम्झौतामा निर्माण गरिएको सो बसपार्कको निर्माण कार्य सम्पन्न गरी सञ्चालनको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स लगायतका सबै संरचना निर्माण भइसकेका छन् । 

उहाँले बसपार्कमा तीन वटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको बताउनुभयो ।

मुख्य राजमार्गमा कोहलपुर चौराहाको छेउमै निर्माण गरिएको सो बसपार्कमा तीन दर्जनभन्दा बढी लामो दूरीका सवारी साधन राख्न सकिने क्षमता छ । केही दिनमै निर्माण व्यवसायीले सम्पूर्ण काम सकेर कोहलपुर नगरपालिकालाई हस्तान्तरण गर्ने र त्यसपछि सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

सो अत्याधुनिक लामोदूरीको बसपार्कको समग्र व्यवस्थापन बहालमा दिन, औषधि पसलहरू सञ्चालन गर्न, लामोदूरीको बसपार्क क्षेत्रभित्र रहेका सटरहरू बहालमा दिन सूचना प्रकाशित गरिसकिएको नगरपालिकाले जनाएको छ । 

बसपार्क सञ्चालनमा आएपछि नेपालगञ्ज र कोहलपुरबाट देशभरि यातायात सञ्चालन गर्ने व्यवसायीलाई सहज हुनुका साथै यात्रुलाई पनि राम्रो सुविधा मिल्ने कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो । 

मेयर आचार्यका अनुसार बसपार्क सञ्चालनका लागि कोहलपुर बसपार्क व्यवस्थापन कार्यविधि २०७९ समेत स्वीकृत भएको छ । यो बसपार्कबाट देशको पूर्व–पश्चिम र उत्तर– दक्षिणका विभिन्न स्थानमा लामो दूरीका यातायातका साधनहरू चल्नेछन् । 

सो बसपार्क सञ्चालनका लागि मेयरको अध्यक्षतामा पाँच सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको छ । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैले लगानी गरेको छ ।

वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता भएको नगरपालिकाले जनाएको छ । सो आधुनिक बसपार्क पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।