• १७ पुस २०८१, बुधबार

हाम्रो पेमा जोडियो हाम्रो रेमिट

blog

आपसमा जोडियो हाम्रो पात्रोअन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट सेवा । तस्बिर : हाम्रो पात्रो

काठमाडौं, वैशाख ४ गते । हाम्रो पात्रोअन्तर्गतका हाम्रो पे र हाम्रो रेमिट सेवा आपसमा जोडिएका छन् । यससँगै वैशाख १ गतेदेखि हाम्रो रेमिटबाट पठाएको रेमिट्यान्स हाम्रो पे वालेटमा प्राप्त गर्न सकिने भएको छ ।

हाम्रो पात्रो रेमिटबाट हाम्रो पे मा पैसा पठाउँदा वालेटमा एक सय रुपियाँ बोनस पाउनुहुनेछ भने यो अफर यही वैशाख ७ गतेसम्म मान्य हुनेछ । सेप्टेम्बर २०२१ मा सुरु भएको हाम्रो रेमिटको सहयोगमा हाल अमेरिकाबाट नेपाल पैसा पठाउन सकिन्छ । अब आगामी मे महिनादेखि अष्ट्रेलियामा रहेका नेपालीले समेत हाम्रो रेमिटको सेवा प्रयोग गर्न पाउने छन् ।

हाम्रो पात्रोका अनुसार यदि अमेरिकामा रहेका नेपालीले कार्ड प्रयोग गरी हाम्रो पात्रोमार्फत पैसा पठाएको खण्डमा आधा घण्टाभित्रै हाम्रो पेको वालेटमा जम्मा हुनेछ । अन्य रेमिट्यान्स कम्पनीबाट पठाएको पैसा समेत यसैगरी हाम्रो पेमार्फत प्राप्त गर्न सकिने व्यवस्था मिलाउने कार्य चलिरहेको छ ।

गत फागुन ५ गते सार्वजनिक भएको हाम्रो पे डिजिटल वालेट हाम्रो पात्रोको एपमै उपलब्ध छ । यसको छुट्टै मोबाइल एप नभएको हाम्रो पात्रोले जनाएको छ ।

सुपर एप बनाउने उद्देश्यका साथ विभिन्न सेवाहरूलाई हाम्रो पात्रोमै जोड्दै लगिरहेको हो । हाम्रो पेमा मोबाइल टपअप, नेपाल पे क्यूआरमा जोडिएका मर्चेन्टको भुक्तानी, विद्युत, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधाहरू रहेका छन् ।

मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो एपमा साथीहरूसँग मिलेर बिल तिर्न मिल्ने ‘स्प्लिट मनी’, सापटी माग्न सकिने ‘आस्क मनी’का साथै अङ्ग्रेजी र नेपालीका साथै विभिन्न छ वटा भाषामा प्रयोग गर्न सकिने फिचर समेत रहेका छन् ।

यस बाहेक हाम्रो पेमार्फत भएको खर्च ट्याक गर्न र कुन शीर्षकमा कति रकम खर्च भयो भन्ने कुराको विश्लेषण गर्न, खर्चको सीमा तय गर्न पनि सकिन्छ । कम्पनीले ग्राहकको सहजताका लागि लाइभ च्याट सपोर्टको व्यवस्था गरेको छ ।