• ४ जेठ २०८१, शुक्रबार

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै

blog

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै । फाइल तस्बिर

जनकपुरधाम, वैशाख २ गते । मिथिलाञ्चलमा आज (शनिबार) हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेवित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ ।

होली पर्वमा रङ्ग/अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ । पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे । अचेल यो परम्परा लोप हुँदै गइरहेको छ ।

मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा सेभ हिस्टोरिकल जनकपुरधामको अगुवाइमा केही वर्ष यतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ । पछिल्लो समय युवा पुस्तामा मिथिला क्षेत्रमा पनि जुडशीतलको महत्त्व बिस्तारै कम हुँदै गरेको स्थानीयहरू बताउँछन् ।

शरीरमा हिलो र पानी  हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ । गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको विशेषज्ञहरू बताउँछन् ।

यसअघि बिहीबार मिथिलाञ्चलको धार्मिक एवम् सांस्कृतिक पर्वको रूपमा रहेको सतुवाहीन पर्व मनाइएको छ । पर्वको अवसरमा घर–घरमा सतु खाने तथा दान गर्ने चलन रहेको छ । घरका देवीदेवतालाई प्रसादका रूपमा सातु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्छन् । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ ।