• ७ वैशाख २०८१, शुक्रबार

उकालो चढ्दै चौँरी गाई (फोटो फिचर)

blog

फिदिम, वैशाख २ गते । हिमाली काखमा रमाउने सुन्दर प्राणी हुन् चौँरी गाई । चौँरीका बथानले हिमालको सौन्दर्यतामा थप मोहकता  थपिदिन्छ । चौँरी नभए हिमाली आकर्षणको साख नै घट्छ । त्यसो त हिमाल विना चौँरी र चौँरी विना हिमालको अस्तित्वमा कमी आउँछ भन्दा फरक नपर्ला । किन की प्रायः उच्च भू–भागको चिसो र हिउँ चौँरीको जीवनचक्रका लागि अनुकूल वातावरण हो । 

गर्मी सुरु भएसँगै हिजोआज औल झरेका चौँरी लेक तर्फ उकालो चढ्न थालेका छन् । अधिकांश समय हिमाली क्षेत्रमै बिताउने चौँरी गाई हिमपातले घाँस नपाउने र हिमपातबाट बचाउने गोठालोहरूले औल ल्याउने गर्छ । 

हिमाली क्षेत्रको पर्यावरण संरक्षणमा चौँरीले ठुलो सहयोग पुर्‍याउने गर्दछ । चौँरी हिमाली क्षेत्रमा घरपालुवा र जङ्गली जनावरको रूपमा पालिन्छन् । हिमाली जिल्लाहरू इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला लगायतका २८ जिल्लामा चौँरी रहेको पाइन्छ ।  

तीन हजारदेखि पाँच हजार उचाइको सेरोफेरो चौँरीको रमाउने गर्छ । हिमालवासीले मुख्य जीविकोपार्जनको आधारका रूपमा चौँरी पाल्ने गरेको पाइन्छ । चौँरीको दूध, मासु, ऊन विक्री र भारी बोक्न प्रयोग गरी किसानले आम्दानी लिने गर्छन् । प्रकृति, संस्कृति, जीविकोपार्जन र पर्यटनसँग धेरै महत्त्व राख्ने चौँरीको सङ्ख्या भने घट्दो क्रममा रहेको अध्ययनले देखाएको छ । मानवीय गतिविधिले निम्तिएको जलवायु परिवर्तनका कारण हिमालको अस्तित्व सङ्कटमा पर्न थालेसँगै चौँरीको जीवनचक्र पनि प्रभावित हुन थालेको देखिन्छ । 



Author
नारायण तुम्बापो

उहाँ पाँचथर (फिदिम) बाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।