• १० मंसिर २०८१, सोमबार

भेडीगोठको उँभौली यात्रा (फोटो फिचर)

blog

पाँचथरको याङ्वरक गाउँपालिका–२, तिम्बुपोखरी क्षेत्रमा घुम्ती शिविर भेडीगोठमा चरिरहेका भेडा । तस्विरः नारायण तुम्बापो

फिदिम, साउन २६ गते । हिजोआज नेपालका विभिन्न उच्च हिमाली क्षेत्रका सेरोफेरोमा भेडाका बथान रमाउँदै चरिरहेको भेट्न सकिन्छ । गोठालाले उभौली घुम्ती शिविरका रूपमा भेडीगोठ लेकतिर लागेसँगै अहिले माथिल्लो भेगमा चरनमा रहेका भेडाका बथान भेटिने गरेका हुन् । 

गर्मी याममा उँभौली र जाडोमा उँधौलीको खर्कमा भेडा चराइने किसान सुनाउँछन् । घाँस पानीको पर्याप्त उपलब्धताको खोजी गर्दै गोठालाले घुम्ती शिविर सञ्चालन गर्ने चलन पुरानै हो । यो तरिकाले टाढा टाढासम्म भेडा चराउन लगिन्छ । यसरी हिँडाइने भेडीगोठ घुम्ती शिविरमा सयदेखि ३०० सम्मको सङ्ख्यामा भेडा सम्मिलित हुन्छन् । घुम्ती शिविरले चरनमा आधारित धेरै सङ्ख्याको व्यावसायिक भेडा पालन पेसा प्रवर्द्धन गर्नमा ठुलो सघाउ पुर्‍याउने किसान सुनाउँछन् । उँभौलीको सेरोफेरोमा भेडाका बथान चर्न पुग्दा हिमाली माहौल नै बेग्लै बन्ने गर्छ । 


घुम्ती शिविरका रूपमा भेडाहरू जुन ठाउँमा पुर्‍याइन्छ त्यस ठाउँमा गोठको प्रबन्ध गरेर भेडाहरू राख्ने गरिन्छ । ठाउँ ठाउँमा तम्बु टाँगेर आफूहरूको लागि बसोबासको व्यवस्था गरेर गोठालाले भेडाहरूको रखवारी गर्छन् । यो परिदृश्यले त्यसै पनि सुन्दर हिमालको आकर्षणमा अर्को आकर्षण थपिदिन्छ । यसबाट पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्छ । भेडीगोठका लागि घुम्ती शिविरमा लाग्नुपर्दा धेरै कष्ट सामना गर्नुपर्ने ग्वाला सुनाउँछन् । उनीहरूले आफ्नो लागि सातु, चामल, नुन, तेल, तरकारी साथसाथमै बोकेर हिँड्नुपर्छ । परिवार, गाउँ समाजसँग भौतिक दूरी र सूचना संवादका हिसाबले महिनौँ सम्पर्क विच्छेद भएर रहनुपर्छ ।  

हिमाली क्षेत्रका धेरै किसानले मुख्य आम्दानीको स्रोतको रूपमा भेडा पाल्ने गरेका छन् । नेपालको पूर्वी पाँचथर, इलाम, ताप्लेजुङदेखि पश्चिम क्षेत्र लमजुङ, रुकुम, जुम्ला, नुवाकोट, कास्कीलगायतका हिमाली जिल्लामा भेडा पालन हुने गरेको पाइन्छ । विशेष गरि नेपालमा स्थानीय जातका भ्याङलुङ, कागे, बरुवाल र लामपुछ्रे जातको भेडा प्रमुख रूपमा पाल्ने गरिएको अध्ययनमा देखिन्छ । भेडाको ऊन, मासु, दुधबाट आम्दानी लिइन्छ । यसलाई भारी बोक्ने साधनको रूपमा पनि प्रयोग गरिन्छ । भेडाको रौं अर्थात ऊनबाट कम्बल, राडी, स्विटर, गलैचा, पस्मिना कपडालगायत निर्माण गरिन्छ । भेडा पालन पेसाले हिमाली क्षेत्रको ग्रामिण अर्थतन्त्र मजबुत बनाउने आधार प्रदान गर्नुका साथै यसले प्रत्यक्ष अप्रत्यक्ष पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षण गर्न सघाउने विज्ञ भनाइ छ । 


सामूहिक बस्न रुचाउने भेडा उच्च हिमाली क्षेत्रमा पालिने चौपाया हो । दुईदेखि २५ डिग्री सेल्सियस तापक्रम भएको हावापानीमा भेडा पालन उपयुक्त हुने विज्ञको राय छ । यही तापक्रमसँग मेल खाने हिमाल र पहाडी भूभाग पर्याप्त रहेकाले नेपालमा भेडापालनको सम्भाव्यता राम्रो रहेको देखिन्छ । सम्भाव्यताले राम्रो देखाए पनि यस पेसाबाट किसान भने विमुख हुने क्रम बढिरहेको अवस्था छ । पाँचथरको हकमा विगतमा दर्जनौँ भेडीगोठ रहेकामा वर्तमानमा एउटा मात्र रहेको अवस्था छ । 

भेडा चर्ने धेरै खर्क सामुदायिक वन बनाइए । कतिपयमा किसानले खेती बाली लगाए । यसले भेडा चरन क्षेत्रको दायरा घटायो । पछिल्लो समय भेडा पालनमा युवा पुस्ताको आकर्षण छैन । यस्ता कारणले भेडा पालन व्यवसाय घट्न थालेको पाँचथर फालेलुङ गाउँपालिका–४, मेमेङका किसान टेकबहादुर गुरुङले सुनाउनुभयो । उहाँले खर्क होइन खोर केन्द्रित भेडापालन पेसा खुम्चिएको सुनाउनुभयो । विगतमा फालेलुङ क्षेत्रमा घुम्ती शिविरमा आधारित आधा दर्जन भेडीगोठ सञ्चालन हुने गरेकोमा अहिले एउटा पनि नरहेको किसान सुनाउँछन् ।   


Author
नारायण तुम्बापो

उहाँ पाँचथर (फिदिम) बाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।